काठमाडौं- स्पेनिस महारथी बार्सिलोना र रियाल मड्रिडकाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रिपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउने भएका छन्।
पुष १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्न डे ला रेडा र सालिनास टिमसँगै मंगलबार नेपाल आइपुग्ने छन्। क्रिस्मस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडिसकेको छ। कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले सोमबार बिदाई गरेकी थिइन।
‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ। स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ। गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ। टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ।
यसैगरी राष्ट्रिय टिमका अर्का पूर्व कप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन्। मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाइसकेको छ।
लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो।
स्पेनिस लिग संरचनामा दोस्रो डिभिजनको क्लब कासेरेन्योमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि हुने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले यसअघि नै जानकारी गराइसकेको छ।
६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए। एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोना जस्ता ठूला क्लबहरुबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए। १९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए।
६ फिट दुई इन्च अग्ला सेन्टर फरवार्ड सालिनास १९८० र १९९० को दशकमा स्पेनिस फुटबलका स्टार खेलाडी थिए। विपक्षीको पोस्टमा निक्कै प्रभावकारी रहने खुबीका लागि उनी प्रसिद्ध थिए। व्यावसायिक फुटबलमा सात फरक क्लबबाट खेल्ने क्रममा कुल पाँच सय ५७ खेलमा दुई सय ४६ गोल गरेका थिए।
रियाल मिड्रडका उत्पादन डे ला रेड भने २००८ मा स्पेनले युरोपियन च्याम्पियनसिप जित्दा टोलीका सदस्य थिए। ३७ वर्षे मिडफिल्डरले गेटाफे र रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए।
रियाल मड्रिडबाट २००६–०७ को सिजनमा स्पेनिस ला लिगा तथा २००८ मा स्पेनिस सुपर कपको उपाधि जितेका उनी गेटाफे २००७–०८ को सिजनमा गेटाफे कोपा डेल रेको उपविजेता बन्दा टोलीका सदस्य थिए।
उमेर समूहमा उनले स्पेनको राष्ट्रिय टिमबाट १००४ मा १९ वर्ष मुनिको युरोपियन च्याम्पियनसिप पनि जितेका थिए।