काठमाडौं– नेपाल टी २० लिगको तेस्रो दिनको पहिलो खेलमा काठमाडौं नाइट्सलाई फार वेस्टर्न युनाइटेडले चार विकेटले हराएर पहिलो जित निकाल्यो।
पहिलो जितका लागि धेरै गाह्रो भएको फार वेस्टका विदेशी खेलाडी तथा कप्तान हसमतुल्लाह साहिदीले बताएका छन्। ‘आज ओभरअल राम्रो भयो, बाँकी खेलमा पनि जितको आशा गर्दछु,’ खेलपछि हसमुतल्लाहले भनेका छन्, ‘ब्याटिङ समयको मिडिल अर्डरको कुुरा गर्दाखेरी हामी नर्भस भइरहेका थियौँ। किनभने यो पिच चाहिँ टेस्ट खेलको पाँचौ दिनको पिचको जस्तो अवस्थामा थियो। त्यसैले त्यहाँ खेल्नका लागि धेरै गाह्रो भइरहेको थियो। यद्यपी हामीले खेल्यौँ।’
उनका अनुसार आज त्रिवि मैदानको विकेट अनियमित थियो। टेस्टको पाँचौ दिनमा खेलाडीले विकेट गाह्रो हुने बताउँछन्। यस्तो विकेट स्लो हुने र बल धेरै बाउन्स हुने सम्भावना पनि हुन्छ। आजको पहिलो खेलमा ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले तेस्रो ओभरमै हरीशंकर शाहलाई गुमाएको थियो। त्यस्तै नवौं ओभरमा ३३ रन बनाएको कमजोर अवस्थामा देव खनाल पनि आउट भए। खनालले पनि २८ बलमा १७ रनमात्र बनाउन सके।
भीम सार्की ११ रनमा र विनोद भण्डारी चार रनमै आउट भए। शून्य रनमा आउट हुनेमा हरीशंकरसँगै बसन्त कार्की पनि रहे। ‘सुरुमै विकेट गएपछि मैले अरु खेलाडीलाई पनि समय लिएर खेल भनिरहेको थिएँ। तर खेलाडीले मैले भनेको कुरामा खासै ध्यान चाहिँ दिएका थिएनन्। त्यसैले उनीहरले विकेट गुमाइरहे,’ हसमतुल्लाहले भने। खेलमा सुदूरपश्चिमले १०२ रन बनाउँदासम्म ६ विकेट गुमाएको थियो।
यद्यपी उसले पाँच बल बाँकी रहँदै चार विकेट बचाएर जित निकाल्यो। हसमतुल्लाहले नेपाली भूमिमा पहिलो पटक कप्तानी गरिरहेका छन्। उनले नेपालमा आएर खेल्दा र कप्तानी गर्दा नेपाली खलाडीको ट्यालेन्टबारे थाहा पाएको बताएका छन्। उनले भने, ‘म पहिलो पटक यहाँ आउँदा यहाँका खेलाडी धेरै ट्यालेन्टेड देखेको थिएँ। टेक्निकल खेलाडी राम्रा ब्याट्स्मेन थिए। भविष्यमा खुल्न सक्ने यहाँ धेरै ट्यालेन्टहरु छन्।’
उनलाई अहिले करण केसी र विनोद भण्डारीले खेलाडी बुझ्न सहयोग गरिरहेका छन्। उनीहरु राम्रा खेलाडीको रुपमा हसमतुल्लाहले बुझेका छन्। ‘मैले पहिलो दिन नै उनीहरुलाई मैले सबै खेलाडी चिनेको र जानेको छैन मलाई सहयोग गर्नुपर्छ भनेको थिएँ। पहिलो खेलपछि चाहिँ मलाई धेरै कुरा थाहा हुँदै गयो,’ उनले भने।
खेलमा आज करण केसीले विकेट लिन सकेनन्। तर भुवन कार्कीले दुई र उमर अलीले तीन विकेट गिराउन सके। त्यसक्रममा काठमाडौंका एलेक्स ब्लेकले ४५ रन बनाएका थिए। फार वेस्टविरुद्ध काठमाडौंबाट सबैभन्दा धेरै रन बनाउने एलेक्स नै रहे। फार वेस्टका लागि सबैभन्दा उत्कृष्ट प्रदर्शन हसमतुल्लाहकै रह्यो। उनले ४९ बलमा अविजित रहँदै अर्धसतक बनाए। त्यस्तै दुई विकेट पनि गिराएका छन्। त्यसैले प्लेयर अफ दि म्याचसमेत बने।
आफ्नो टिममा दुई जना मात्र विदेशी खेलाडी हुँदा लिग जित्ने बाटा गाह्रो हुने बताएका छन्। उनले भने, ‘विदेशी खेलाडी अनुबन्ध गर्दा क्लबले नाम चलेका खेलाडीहरु हुन्छन्। उनीहरु बाहिरको लिगमा पनि खेलेका हुन्छन्। अन्तर्राष्ट्रिय अनुभव पनि धेरै हुन्छ। तर हाम्रो टिममा दुई जना मात्र विदेशी खेलाडी छन्। यसल हामीलाई कम फाइदा भएको छ। थप्न पाए राम्रो हुन्थ्यो।’
अफगानिस्तानको राष्ट्रिय टिमबाट पनि खेलिसकेका उनले नेपालमा घरेलु लिग जित्ने सपना देखेको पनि बताएका छन्। विरन्दिप सिंह नेपाली घरेलु क्रिकेटमा परिचित नाम हो। उनले आइतबार नेपाल टि २० लिगको पहिलो खेल खेले। उनले नेपालमा खेल्न राम्रो लाग्ने पनि बताएका छन्। भन्छन्, ‘मलाई जहिल्यै पनि नेपालमा खेल्न राम्रो लाग्छ। नेपाली समर्थकले धेरै उत्साही पनि बनाउँछन्। यहाँ धेरै अन्तराष्ट्रिय खेलाडीसँग खेल्न पाउनु खुसीको कुरा पनि हो।’
पछिल्लो वर्ष पनि नेपालमा फ्रेन्चाइज खेल्न आएका विरन्दीप चितवन टाइगर्सबाट इपिएलको उपाधि जितेका थिए। उनी यो वर्ष काठमाडौं नाइट्स क्लबमा छन्। उनले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। तर पहिलो खेलमा उनले १० बलमा चार रन मात्र बनाउन सके।
पहिलो विकेटका रुपमा आउट हुने उनी नै थिए। त्यसका बाबजुद काठमाडौंले पुरा ओभ खेल्दै ९ विकेट गुमाएर ९८ रन चाहिँ बनाउन सक्यो। ‘हाम्रो टिम धेरै राम्रो छ। विदेशका खेलाडीहरु पनि यो टिममा समावेश भएका छन्। यो टिमसँग पछिल्लो सिजनमा जस्तै विजेता बन्न चहान्छौं,’ बलिङमा राम्रो गरेको भन्दै उनले आशा व्यक्त गरे।
उनी पछिल्लो हप्तासम्म पनि राष्ट्रिय टिममा व्यस्त थिए। तर आज विहानै काठमाडौंबाट उनी ब्याटिङ गरिरहेका थिए। ‘डिसेम्बरको सुरुबाटै धेरै क्रिकेट खेलिरहेको छु। त्यसैले पनि गलाएको अुभुति भइरहेको छ,’ विरन्दीपले भने, ‘हरेक खेलबाट सिक्नु छ। मैले सिकिरहेको नै छु। यहाँ पनि धेरै सिनियर खेलाडीसँग सिक्ने अवसर पाएका छु।’
उनले आफ्नो टिममा दुई लेफ्ट आर्म स्पिनर्स भएको कारण आफूले बलिङमा खासै धेरै गर्न नपर्ने पनि बताएका छन्।