विराटनगर- प्रदेश १ सभाको दोश्रो कार्यकाल सोमबारदेखि सुरु हुँदैछ। प्रदेशसभा सदस्यले शपथग्रहण लिएसँगै प्रदेशसभाको कार्यकाल सुरु हुने छ।
ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाई ( ७९) ले बिहान ११ वजे प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनियताको शपथग्रहण गरी प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई दिउँसो साढे १ बजे प्रदेश सभामा पद तथा गोपनियताको शपथग्रहण गराउने कार्यक्रम छ। शपथपछि प्रदेशसभा सदस्यका रुपमा पाउने सेवासुविधा पनि प्रारम्भ हुने छ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रदेशसभाको कार्यकाल सोमबारदेखि सुरु हुने भएको हो। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधान अनुसार यो दोश्रो प्रदेश सभा हो।
सोमबार प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै प्रदेशसभाको साढे तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ भदौ १८ गते देखि अन्त्य गरिएको थियो।
गत मंसिर ४ गतेको निर्वाचन मार्फत प्रदेश १ मा नेकपा (एमाले)ले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट प्राप्त गरेका छन्।
संसदको ठूलो दल एमालेले आइतबार नै दलको नेता पनि चयन गरिसकेको छ। पूर्वआर्थिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलले भने शपथग्रहण अघि दलको नेता चयन गरेका छैनन्।
ककस्ले लिदैछन् मातृभाषामा शपथ ?
प्रदेश १ मा ६ जना प्रदेशसभा सदस्यहरुले सोमबार मातृभाषामा सपथ लिने भएका छन्। पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, इलाम प्रदेशसभा क्षेत्र १ बाट दोश्रो पटक निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम, जनता समाजवादी पार्टीकी समानुपातिक सांसद निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसकी समानुपातिक सांसद सुनिता चौधरीले समेत मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार चौधरीबाहेकका सदस्यले लिम्बू भाषामा शपथ लिने छन् भने चौधरीले थारु भाषामा शपथ लिने भएकी छन्।
मातृभाषामा शपथ लिन चाहने सदस्यलाई मातृ भाषामै शपथको व्यहोरा अनुवाद गरी बुझाउन प्रदेशसभा सचिवालयले पुस ५ गते सूचना जारी गरेको थियो।