विराटनगर- नेकपा एमालेले प्रदेश १ मा संसदीय दलको नेता चउन गरेको छ। आइतबार बसेको संसदीय दलको पहिलो बैठकले पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।
प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन्।
बैठकमा विभिन्न दलसँग सरकार गठन लगायतका विषयमा छलफल गर्न र सहमति जुटाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा मेन्याङ्बो र भण्डारीसहित प्रदेश सांसद सृजना राई र लीलाबल्लभ अधिकारी सदस्य रहेका छन्।
संसदीय दलका नेता कार्की झापा क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित भएका हुन्।