काठमाडौं‐ राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए।
नवनियुक्त प्रधानमन्त्रीको शपथ भोलि सोमबार हुनेछ। प्रधानमन्त्री नियुक्त भएसँगै अर्थमन्त्री कुन दलको भागमा पर्ने र को हुने भन्ने चर्चा सुरु भएको छ। सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा रहेको अर्थ मन्त्रालय सत्ता गठबन्धनको स्वरुप हेर्दा नेकपा एमालेले नै पाउने सम्भावना देखिएको छ। प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि अर्थ, गृह र परराष्ट्रमा नेकपा एमालेको दाबी रहने एक नेताले बताए।
एमालेले अर्थमन्त्री पाए प्रमुख दाबेदार विष्णु पौडेल हुन्। उनले यसअघि पनि अर्थ मन्त्रालय सम्हालिसकेका छन्। एमालेमा सुरेन्द्र पाण्डे र युवराज खतिवडा यसअघि अर्थमन्त्री बनिसके पनि उनीहरु अहिले सांसद छैनन्। आन्तरिक आर्थिक सूचकहरू कमजोर बनेको अवस्थामा पौडेल पुन: अर्थमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।
अर्थमन्त्री माओवादीले पाएको अवस्थामा भने वर्षमान पुनको सम्भावना छ। यसअघि कांग्रेससँगको गठबन्धन सरकारमा जनार्दन शर्मा अर्थमन्त्री थिए। उनको कार्यकाल विवादित रहेकाले उनलाई दोहोर्याउने पक्षमा माओवादी छैन।