फाइल तस्बिर
काठमाडौं-विभागीय टोली नेपाल एपीएफ क्लब र गन्डकी प्रदेश राजधानी जारी पाँचौ ढोरपाटन एम-१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा एपीएफले गीतान्जली कलेज तथा गन्डकीले आयोजक ढोरपाटन क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले गीतान्जलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५-२० ले जिल्दा दोस्रो २५-२१ र तेस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो ।
शुक्रबारै भएको अर्को खेलमा गन्डकी प्रदेशले आयोजक ढोरपाटनमाथि ३-१ को जित निकाल्दै फाइनलमा एपीएफसँगको भेट पक्का गर्यो । पहिलो सेट २३-२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट गन्डकीले २५-१५, २५-२० र २५-२० ले आफ्नो पक्षमा पार्यो ।
शुक्रबारै भएको क्वाटरफाइनलमा गन्डकीले बडिगार्ड गाउपालिकामाथि ३-० को सहज जित निकालेको थियो ।
फाइनल खेल शनिबार हुनेछ । तेस्रो स्थानको लागि गीतान्जली र बडिगार्डले खेल्नेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४