काठमाडौं– नेपाली कांग्रेससहित ३ वटा दलमात्र प्रचण्ड नेतृत्वको सरकारबाहिर रहने भएका छन्। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन्।
आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको छ। एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले पनि सरकारमा नजाने निर्णय गरेको छ। त्यसैगरी लोसपाले पनि कांग्रेसको साथ नछोड्ने भएको छ।
प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल र स्वतन्त्र सांसदहरूले समर्थन गरेका छन्।
कांग्रेसले अति गर्दा खति भयो
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै कांग्रेसले अति गर्दा खति भएको टिप्पणी गरेका छन्।
उनले प्रचण्डलाई बधाई दिँदै ट्वीटरमा लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा १७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई। अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्।’