काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन छोडेर नेकपा एमालेसँग मिल्न गएपछि कांग्रेसले त्यसलाई गठबन्धन संस्कृति विपरीतको निर्णय भनेको छ।
राजनीतिक भागबण्डामा कुरा नमिलेपछि प्रचण्ड एमालेसँग मिल्न गएका हुन्। कांग्रेसले प्रचण्डको निर्णय राजनीतिक संस्कृति अनुरूप नभएको प्रतिक्रिया दिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउदले गठबन्धनको सहमतिलाई प्रचण्डले स्वीकार गर्न नसकेका कारण गठबन्धन भत्किएको बताए। कांग्रेसले नयाँ तरिकाले राजनीतिक घटनाक्रमलाई अघि बढाउने उनको भनाइ छ।
गठबन्धनमा रहेको दल माओवादीले दोस्रो दल एमाले र साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने भएको छ। आज बिहानसम्म पनि कांग्रेस सत्ता गठबन्धन जोगाउन प्रयासरत थियो। तर राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नचाहेपछि माओवादी गठबन्धन छाडेर एमालेसँग मिल्न पुगेको हो।