काठमाडौं– प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी हुने भएको छ। दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षी
हुने भएको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका ८९ जना सांसद छन्।
आज बिहानसम्म कांग्रेस सत्ता गठबन्धन जोगाउन प्रयासरत थियो। तर राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नचाहेपछि माओवादी गठबन्धन छाडेर एमालेको साथ खोज्न पुगेको छ। एमाले अध्यक्ष केपी ओलीको निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीका नेताहरु सहभागी भएका थिए। उनीहरुले १६६ जना सांसदको समर्थन जुटाएर सरकारमा दाबी पेश गर्ने भएका छन्।
सरकार गठन गर्ने दलहरुले अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत पद भागवण्डा गर्नेछन्। गठबन्धन जोगाउन नसक्दा कांग्रेसले ती कुनै पनि पद नपाउने स्थिति बनेको छ।