काठमाडौं- प्रधानमन्त्रीको विषय टुंग्याउन लगाउन केहीबेरमा गठबन्धन बैठक बस्दै छ। त्यसअघि नेकपा माओवादी केन्द्रका शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका छन्।
सत्ता गठबन्धनको निर्णायक बैठक सुरु हुनुअघि माओवादी नेताहरू प्रचण्ड निवासमा भेला भएका हुन्। प्रचण्ड निवासमा नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, गिरिराजमणि पोख्रेल, देवेन्द्र पौडेल, वर्षमान पुन, देव गुरुङ, जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालसहित छलफल चलिरहेको हो।
कांग्रेसले माओवादीलाई प्रधानमन्त्री नदिए सत्ता गठबन्धनबाट बाहिरिने तयारी माओवादी नेताहरूको छ। वर्षमान पुनलगायत नेताले प्रचण्डलाई गठबन्धन छाड्न सुझाव दिइरहेका छन्।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय सीमा आज साँझ ५ बजे सकिँदै छ। तर दलहरूबीच सत्ताको नेतृत्वमा कुरा नमिल्दा सरकार गठनको खाका आउन सकेको छैन।