विराटनगर- विराटनगर सीमा क्षेत्रबाट पछिल्लो १३ वर्षमा माईती नेपालले १ हजार १६९ महिला र बालिकाको उद्धार गरिएको छ।
माईती नेपालको तथ्यांक अनुसार यो संख्या बर्षेनी बढ्दो दरमा छन्। सन् २०१० मा रानी क्षेत्रबाट ८० जनाको उद्धार गरिएको थियो। त्यसपछि यो संख्या हरेक वर्ष बढ्दो दरमा देखिएको छ।
पछिल्ला २ वर्षमा यो दर कम थियो। २०२० मा ३३ र २०२१ मा ८३ जनाको उद्धार गरिएको थियो। कोरोना संक्रमणका कारण दरमा कमी आएको बताईएको छ। पछिल्लो १३ वर्षमा रानी क्षेत्रबाट १ हजार १६९ जनाको उद्धार गरिएको कार्यक्रम संयोजक पोखरेलले बताए। उनका अनुसार सो अवधिमा ५५१ जना बालिकाहरु हराएका छन्।
माईती नेपाल विराटनगरले सन् २०२२ मा विराटनगर रानी सीमा क्षेत्रबाट १३१ जनाको उद्धार गरेको छ। एक वर्षको अवधिमा सो संख्यामा भारत जान लागेका महिला तथा बालिकाहरको उद्धार गरिएको शुक्रबार विराटनगरमा आयोजित पत्रकारसँगको अन्र्तक्रियामा कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए।
माईती नेपालको तथ्याङ्क अनुसार सीमा क्षेत्रबाट जनवरीमा ७, फेब्रुअरीमा ११, मार्चमा ८, अप्रिलमा १३, मे मा ११, जुनमा १६, जुलाईमा १२, अगष्टमा १५, सेप्टेम्वरमा १४, अक्टोबारमा ८, नोभेम्वरमा १० र डिसेम्वरको शुक्रबार सम्म ६ जनाको उद्धार गरिएको पोखरेलले बताए। उद्धार गरिएकाहरुमा जातिगत रुपमा चौधरी, राजवंशी सवैभन्दा बढी ३४ जना रहेका छन्। ब्राम्हण समुदाय र राई, लिम्वु र मगर २५–२५ र तेश्रो स्थानमा विक, परियार समुदायका १८ रहेको कार्यक्रम संयोजक पोखरेलले बताए।
जिल्लागत रुपमा सवैभन्दा बढी मोरङका ३६ जनाको सीमा क्षेत्रबाट उद्धार गरिएको कार्यक्रम संयोजक पोखरेलले बताए। उनले भने, ‘विराटनगर महानगरपालिका भित्रका १४ जना छन्।’ उनका अनुसार सुनसरीका २१, झापाका १५, काठमाण्डौं र ललितपुरका ९, उदयपुरका ७, भोजपुर, धनकुटा र इलामका ५–५, सिन्धुपाल्चोक, सप्तरी र तेह्रथुमका २–२, कैलाली र धनुषाका १–१ जना रहेका छन्। उमेर समूह अनुसार उद्धार गरिउका मध्ये १८ वर्ष माथिका ८९ र १८ वर्ष मुनीका ४२ जना रहेको माईती नेपालका कार्यक्रम संयोजक पोखरेलले बताए।
सीमा क्षेत्रबाट बर्षेनी महिला, बालिकाको उद्धार गरिएको संख्या बढ्दै गएपछि माईती नेपालले यसको नियन्त्रणका लागि शुक्ष्म रुपमा अध्ययन अनुसंधान गरि संवन्धित क्षेत्रलाई मानव वेचविखन नियन्त्रणका लागि अभियान शुरु गरेको छ। सीमा क्षेत्रमा सञ्चालित व्युटि पार्लर, सिटी , टेम्पु चालकहरुलाई अभिमुखीकरण गरिएको पोखरेलले बताए। सरोकारवालावीच छलफल, संवादका कार्यक्रमहरु नियमित हुँदै आएको उनले बताएका छन्।
माइती नेपालले प्रत्येक दिन विहान चार बजेदेखि वेलुकी १० बजेसम्म भारतीय रेल्वे र बस पार्क क्षेत्रमा अनुगमन गर्ने गरेको छ भने यस कार्यमा नेपाली र भारतीय प्रहरीले सहयोग गरेको जनाएको छ। अधिकांश उद्धार गरिएकाहरु महिलाहरुले के कार्यका लागि भारत जान लागेको प्रश्नमा थाहा छैन जवाफ दिने गरेको प्रमुख पोखरेलले बताए।