काठमाडौं– नेपाल लिट्रेचर फेस्टिबलको दोस्रो दिन ८ पुस शुक्रबार अपरान्ह पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखराको लेकसाइडमा निर्मित मञ्चमा देखिए। साथमा थिए– पत्रकार अखण्ड भण्डारी। ‘राजनीति बाहिरको जीवन’ शीर्षकमा बोल्न पुगेका ओलीले पोखराको सौन्दर्य र पोखरेलीबासीको खुलेर प्रशंसा गरे।
छानी रहने होइन जानी जानी
शिशिर योगीको संगीत तथा स्वरमा उनै ओलीको गीत बज्यो मञ्चमा। तर ओलीले आफ्ना कुरा भगवान्सँग जोडे।
१९ औं शताब्दीतिर जर्मनीको एक इतिहास उनले कोट्याए, ‘जे गर्छ ईश्वरले गर्छ। मेहनत गरेर कोही केही बन्न सक्दैनन् जे गर्छन् भगवानहरुले नै गर्छन् भन्थे। यसरी जर्मनी देश विस्तारै खस्किँदै गयो। खस्किँदै गएको देशबासीले मानेको भगवान्लाई नित्सेले मारिदिए। एउटा कटपुतली भगवान् बनाएर हातमा लौरो लिएर चौबाटो तिर लागे नित्से। उनीसँगै उनका विद्यार्थी पनि थिए। चौबाटोमा पुगेर नित्सेले लौरोको सहाराबाट कठपुतली भगवान्लाई मारे। र सधैंलाई इश्वर छैनन् मरे भन्ने सन्देश दिए। अब पछाडि परेको जर्मनीलाई कसले अगाडि बढाउँछ भन्ने नित्सेले प्रश्न गरे। एक विद्यार्थीले अगाडि बढेर म बनाउँछु भने। र उनै जर्मन चान्स्लर भए अथवा जसलाई ‘आइरन म्यान’ पनि भनियो।
कुराकानीकै क्रममा मृगौला प्रत्यारोपण गरेको अनुभव सुनाउँदै उनले भने, ‘नेपालमा जन्मिन पाएँ र म भाग्यमानी भएँ। विद्धानहरुको भूमिमा जन्मिन पाउनु नै भाग्यमानी हुँ।’
प्रधानमन्त्री रहँदा दोस्रोपटक प्रत्यारोपण गर्न डाक्टरलाई समेत मनोबल बढाएको सन्दर्भ भण्डारीले जोडेपछि ओली शान्त भावमा खुले, ‘प्रधानमन्त्री थिएँ। सरकारले खर्च व्यहोरेको थियो। लाखौं खर्च थियो। नेपालमै डाक्टरहरु प्रत्यारोपण गर्न सक्ने क्षमता राख्न सकिने हुँदा आफूले नेपालमा प्रत्यारोपण गर्न हौस्याएँ। हाम्रो स्रोत र सधान र डाक्टरबाट हुन सक्ने काम किन बाहिर गर्ने। तपाईहरू सक्नु हुन्छ भन्ने हौस्याएँ। तपाईले गरिरहेको काम हो, सक्नुहुन्छ। मलाई पनि सन्चो पार्नु हुन्छ।’
गीतकार ओली कत्तिको शसक्त भन्ने भण्डारीको प्रश्नमा ओलीले भने, ‘हरेक कुरामा सशक्त छु भन्दिन। अशक्त पनि भइनँ। भावनाको कुरा हो सशक्त र अशक्तका कुरा। भावनालाई बलियो हुनुपर्छ भन्ने हो।’
यस्तैमा ओलीले काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहलाई तबला उपहार दिएको सम्झाइदिए भण्डारीले। मेयर बालेन बजाउन र गाउन जान्ने मान्छे हुन्। बालेनसँग तबला थिएन। उहाँसँग भएको माटोको तबला सार्दा फुट्यो। त्यसैले मैले नफुट्ने तबला उपहार दिएको हुँ,’ ओलीले सुनाए।
ओली कहिले नाच्दै गरेको, कहिले सारङ्गी बजाइरहेको फोटो वा भिडियो भाइरल भइरहन्छन् सामाजिक सञ्जालमा भन्ने प्रश्नमा उनले नाचगान तथा संगीतमा लाग्नुको लगाव सुनाए, ‘सिंगो जीवन छ। बच्चा भएँ। किशोर भएँ। युवा भएँ। बाँचे भने बूढो पनि हुनुपर्छ। हजूरआमा १ सय १ वर्ष बाँच्नु भयो। बुवा पनि अहिले हिँड्नु नै हुनुुहुन्छ। मेरो बुवा पनि बुढोबुढो जस्तो देखिनु भएको छ। जीवन भनेको एउटा मात्रै हुँदैन नि।
विभिन्न समयमा जीवनका रङहरू पनि विभिन्न प्रकारका हुन्छन्। विभिन्न रसहरू झैं हुन्छन्। त्यसैले जीवन भनेको एउटा मात्रै उमेर होइन नि। राजनीति भनेको धान फलाउने, सुन्तला फलाउने खेल होइन नि। राजनीतिसँगै खानु पर्छ। रमाउनु पर्छ। साग फलाउनु पनि पर्यो। केलाउनु पनि पर्यो। के राजनीति गर्नेले खाने रमाउने गर्नु पर्दैन? के साग खानु पर्दैन? खाने भए लगाउनु पर्दैन। सघाउनु पर्दैन? संसारमा यस्ता मान्छे पनि छन् जो गचक्क परेर बस्छन्। यस्तो कि पृथ्वीको भार आफैले मात्र बोकेको हो। कहिल्यै प्रशन्न चित्त हुँदैन। आफ्नो भागको चिन्ता आफ्नो भागको काम आफ्नो भागको कर्तव्य, आफैंले गर्ने। दत्तचित्तका साथ गर्ने हो। देउसी खेल्ने ठाउँमा गएर ठिङ्ग उभिएर गमक्क पर्ने। राजनीति गर्नेले फुटबल खेल्नु हँुदैन भन्ने हुन्छ? राजनीति गर्ने मान्छेले चित्र कसरी बनाउने ?
निर्वाचनको मौन अवधीबाहेक अरू समय भान्सामा समय दिनु हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘म दुर्गम गाउँमा जन्मिएको हुँ। भर्खर बाटो पुग्यो। मात्र २–४ वर्ष भयो। अझै रामरी पक्की भइसकेको छैन। भर्खर पानी पुग्यो। विद्यालय भने राणाकालमै पुगेको हो। तर विकासहरु माध्यम भने पुगेको छैन। अझ हाम्रो चलन के थियो भने ‘एक मानाको बन्दोबस्त छ’ कि छैन। अथवा कोही छोरी माग्न आए मानाको बन्दोबस्त छ कि छैन भन्ने सोधिन्छ। त्यसैले ठूला सपना थिएनन्। अलि ठूलो भइन्जेलसम्म पनि मैले साना ठूलो काम भनिन। थाल माझ्ने काम सानो र खाने काम ठूलो भनिन। किनकि मैले गाउँमा टपरी बनाउने, तान लगाउने, पिर्का बनाउने, गुन्द्री बुन्नेजस्ता काम गरें। पोखरा जेलमा पर्दा लगाउने कपडा पनि सिलाएँ। कमिज सुरूवाल आफैं काट्ने सिलाउने गरें। सानैदेखि काम गरें। अझ साथीहरुलाई खाना बनाउन लगाएर भाडा माझ्ने काम गरें। किनकि भाडा माझ्ने काम छोटो हुन्थ्यो। घरगृहस्थीमा गर्नुपर्ने सबै काम गरें।
किशोर हुँदा जे देख्यो त्यो सिक्ने जिज्ञासा हुन्थ्यो। आफ्नो साइकल नभएपनि अरुको साइकल सिकें। एक दमिनी आमा हुनुहुन्थ्यो गाउँमा। मेसिन र कैंचीतिर हेर्यो कि तेरो चाल ठिक छैन है भन्दै छुन दिनुहुन्थेन। बिग्रने ठाउँ त कहीँ थिएन तर छुनै दिनु हुन्थेन। आफूलाई भने चलाम चलाम हुन्थ्यो।
खर्पन बोकिरहेको एक मानिसको चित्र र सोही चित्र तल कोरिएको ‘खर्पन’ शीर्षकको कविता २०४१ सालमा जेलमा बस्दा लेखेको संस्मरण सुनाए ओलीले, ‘म पोखरा जेलमा थिएँ। म बन्दी थिएँ त्यसैले खर्पन बोक्नेमा म परिवर्तन भएर लेखेको थिएँ। एक जना मानिसले खर्पनमा सागसब्जी लिएर हिँडेको देखें। मैले उनी भएरै यो कविता लेखें। र कविता लेख्नुभन्दा अगाडि कागजमा पेन्सिलले खर्पन बोकेको मानिसको चित्र बनाएको थिएँ।
मेरो बानी के थियो भने भूमिगत कालमा जहाँ जहाँ पुगें त्यहाँ लेख्थें। २०४२ सालतिर भूमिगत समयमा ‘कालिचरण’ नाम राखेर कविता भुमनिधि पन्तले राखिदिनु भएको रहेछ। यो भूमिगत नाम थियो। यो पत्रिका तनहुँका ‘भञ्ज्याङ’ पत्रिकामा पनि छापिएका कारण चर्चामा आयो। म कविता लेख्ने, मेट्ने, केर्ने होइन, भूपि शेरचनको जस्तो यसो लेख्छन्, हेर्छन्, केर्छन्, मेट्छन् फेरि हेर्छन्, केर्छन्, कठैबरा बिचरा भूपि शेरचन। मेरो त्यस्तो बानी छैन। लेख्थें, हेर्थें, छोड्थें। यो त्यसैगरी आएको हो।
जेलमा बस्दा महाकाव्य पनि लेखिएको सन्दर्भ पत्रकार भण्डारीले जोडे। १८ सर्ग भएको महाकाव्य लेखेको थिएँ। ६ महिना जेलमा बस्दा १६ खण्डसम्म लेखेको थिएँ। पछि यता नलगाऔं भन्ने भयो। त्यो महाकाव्य लेख्नुका खास कारण आमाको सम्झना थियो। आमा गुमाउनु पर्दाका दिन थिए। र महाकाव्यका नाम आमा नै राख्न पनि मन लागेको थियो।
‘दुई आँखा दुई कान तीन मुख’ शीर्षकको निबन्धको सन्दर्भ पनि कोट्याए भण्डारीले। एक पटक मैले केही साथीहरूलाई सम्झाउँदा यो कुरा राखेको थिएँ। हामी दुई कान र दुई आँखाले हेर्ने र सुन्ने गर्छौ। सुनेर र हेरेर सिक्ने हो। तर मुख त एउटा छ। त्यसैले अत्यन्तै सीमित बोल्ने हो। राम्रा कुरा गर्नु पर्यो। सुनेका र हेरेको आधा कुरा बोल्नु पर्यो भन्ने सन्दर्भमा यो शीर्षकको निबन्ध कोरेको थिएँ। बोलेर ज्ञान आर्जन कम हुन्छ। बिचार गरेर बोल्नु पर्यो। २०३७ सालतिर भद्रगोल जेलमा हुँदा यो निबन्ध लेखेको थिएँ।
कविता र निबन्धबाहेक संगीतमा पनि रुची छ कि?
एक पटक साथीले हारमोनियम बजाउन आउँछ भने। मैले आउँछ भने। मेरो बजाउने तरिका अरूको भन्दा फरक छ भनें। आउँदा धेरै कुरा आउँछ तर आफ्नै पारामा आउँछ। मौलिक। सिक्दै नसिकेको बच्चाले जस्तै अत्यन्तै ओर्जिनल आउँछ।
१४ वर्षको जेल जीवनमा अध्ययन गर्ने माहोल कसरी सम्भव थियो भन्ने प्रश्न राखे भण्डारीले। यसको रमाइलो किस्सा छ। म गोलघरको जेलमा परें। पानी खाने भाँडो दिँदैनथें। माटोको भाँडा ल्याइयो। सिसा या स्टीलको भाँडा त सम्भव नै भएन। दुःख दिने नियतका कारण पनि त्यस्ता सामान हुँदैनथ्यो। कागज कलम त परैको कुरा हो।
रेडियो नेपालको जडान गरेर माइक भने जेलभित्र राखिएको थियो। त्यसको समाचार सुन्न पाइन्थ्यो। मधेशमा बस्ने हवारी थरका मानिसका हिन्दी गीतका लागि फर्माइस आउँथ्यो। हवारी थर रहेछ भन्ने त्यतिखेर नै थाहा पाएको थिएँ। त्योबाहेक केही सुन्न पाइन्थेन। केही दिनपछि म बिरामी भएँ र मलाई जँचाउन बाहिर ल्याइयो। त्यो बेला भुइँमा दश खिली भएको ‘गोल्ड फ्ल्याक’ भन्ने चुरोटको कागज कसैले फ्याँकेको देखें। बाहिर गोल्डफ्ल्याक लेखेको हुन्थ्यो भित्र खाली हुन्थ्यो। मैले कागज नदेखेको केही महिना भइसकेको थियो। त्यो कागज भेट्दा आफन्त भेटेजस्तै भयो। त्यो उठाएर अलिकति अगाडि जाँदा संयोगले पेन्सिलको टुक्रा भेटें। उठाएर भित्र गएँ।
चुरोटको कागजमा पहिलो कविता लेखें नाइकेको। आफूलाई नाइके, गोल नाइके, भाइ नाइके, चौकीदार, भाइ चौकीदारहरूले शासन चलाउँथे। त्यसमध्ये एकजनाले मलाई नियन्त्रण गर्ने र शासन गर्नेको जीवनकथा जेलमा सुनेको थिएँ। उनलाई पीडक बनाएर जेल हालिदिएको थिएँ। उनको जीवन परिवार प्रेम सबै टिठलाग्दो थियो। उनै पीडित नाइकेमाथि कविता लेखेको थिएँ र एकदिन उनैलाई सुनाएँ। केही लाइन पढेको सुनेर नाइके गम्भीर भए । पछि त ग्वाँ ग्वाँ रोए। त्यसपछि मलाई चुरोटको खोल उनैले जुगाड गरिदिए। पेन्सिलको टुक्रा पनि भित्तामा घोटेर तिखार्थें। अवस्था र आवश्यकताले आफूलाई चाहिने बस्तु आफै आविस्कार हुन्छ। र त्यसरी लेखनको सुरूवात गरें। अलिपछि चुरोटको खोलहरूमा चाङ कविता लेखें। एकदिन जेलरले के लेखेको रहेछ भनेर पढे। अनि मेरो कविता पढेपछि उनले नै फुलस्केप कागज र पेन्सिल उपलब्ध गराइदिए। चुरोटको खोलमा शीर्षक राखेर रघुजी पन्तले एक लेख छाप्नु भएको छ।
पढ्ने कुरामा कस्तो रह्यो जेलमा?
पढ्ने कुरामा भन्ने हो भने जेल घरको बाहिर एक लाइब्रेरी थियो, जसको सदस्य पनि भएको थिएँ। त्यहाँ किताब पढ्ने इजाजत थियो। दिनमा २ देखि ३ किताब पढ्थें। के पढ्ने के नपढ्ने भनिन। सबै पढें। एक वर्षमा त्यो लाइब्रेरीको किताब पढेर सकेको थिएँ।
त्यो बेला जेलमा भएर पढ्न पाइयो। अहिले लेख्न पढ्न कति समय व्यवस्था गर्नुहुन्छ?
अहिले राति समय निकाल्छु। किनकि कम सुत्छु। समय मिल्यो भने सुतिहाल्छु। सुत्यो कि निदाइहाल्छु। कहिले चार घन्टा पनि सुत्छु। राति अबेरसम्म नबस्नु। सकेसम्म समयमा सुत्ने उठ्ने गरियो भने स्वास्थ्य राम्रो हुन्छ।
साहित्यकार तथा स्रष्टासँग भेटघाट गरिरहनु हुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘राष्ट्रकवि, शताब्दी जोशी, भजन शिरोमणी, कविहरू हाम्रा लागि तीर्थजस्ता हुन्। उहाँहरूको सम्मानका लागि जान्छु। उहाँहरूसँग गएपछि अनौठो वात्सल्य प्राप्त हुन्छ। ज्ञान प्राप्त हुन्छ। ज्ञान प्रवेश गराउन सक्ने क्षमता उहाँहरुसँग थियो र छ। उहाँहरूसँग साहित्यिक गफगाफ गर्ने गर्छु। त्यो कोभिड अगाडि गरेको पनि थिएँ। कोभिड लागेका कारण रोकिएको छ।
कलालाई पनि रुचाउनु हुन्छ। कसरी दख्खल रह्यो?
मैले भने नि जे सुकै कुरामा रुची राख्ने मान्छे हुँ। पौडी खेल्न नजान्दा पनि खोलामा हाम फालें। र त्यही पौडी खेल्न सिकें। सिक्न कहिल्यै रोकिन आफूलाई। चित्रकारिता स्कुलमा सिकें।
खेलकुदमा पनि रुची छ हजुरको ?
छ। विश्वकप फाइनल हेरें। अर्जेन्टिनाकै पक्षमा थिएँ। तटष्थ ढंगले हेरें। फुटबल बुझ्छु। फाइनल गज्जबको रह्यो। हेर्दाहेर्दै कतिपटक उठें। म उठेको विश्वले नदेखे पनि खेलसँग भावना त बग्यो। फाइनल राति खेलाएकोले आनन्द आयो।
पौडी खेल पनि मन पर्छ। तीब्र रुपमा बगेको नदीलाई पौडी खेलेर पार गरियो। खेलमा जान्ने त होइन म। तर मभन्दा कमजोर खेलाडीलाई हराउन सक्छु। क्यारम खेल्छु। क्रिकेट पछि आएको हो।
नास्तिक कि आस्तिक तपाई भन्ने प्रश्नमा ओलीले उत्तर कोरियाको एक यथार्थ घटना सुनाए। किम जोङको मूर्तिलाई ढोग्न लगाएपछि आफूलाई नास्तिकबाट आस्तिक भएको प्रसंग सुनाए, ‘त्यो यथार्थ घटना हो। सत्यमा विश्वास गर्छु। त्यसकारण मेरो सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने भन्ने पनि हो।
शुकरात जस्तै बुद्धजस्तै सत्यलाई खोज्छु। शिव, कविरमुनी र योगका कुरा आउँछ। खाली आसन र प्रणायमलाई मात्रै योग बुझ्नु भएन। सत्य र अहिंसाबाट पनि योग सुरू हुन्छ। योग गर्ने हो भने पहिले सत्य धारण गर्छु। असत्यको मार्ग हिँड्दिन भन्ने कबुल गर्नु पर्छ। बस्तुबादी दर्शन, यथार्थबादी दर्शन जे सत्य हो त्यो सत्य हो।
एउटा भनाइ छ– उमेरमा हरेक मान्छे कम्युनिष्ट र कवि हुन्छ। अहिले तपाईं के हुनुहुन्छ ?
यो व्याख्या नै गलत हो। बैंशमा मात्रै कवि हुने भन्ने हुँदैन। आफ्नै अगाडि कविहरु हुनुहुन्छ। बुढेसकालमा पनि लेख्नु पनि हो। साहित्य बैंशको लहड होइन।
ऋषिमुनी भन्थे– मान्छेको सबै कुराको गन्त्व्य सुख हो। सुख चाहन्छु। साहित्य लेख्ने कवि मन हुने कुरा उमेर अनुसारको भावना हुन सक्छ। उमेरसँगै रसहरू परिवर्तन हुन सक्छ तर बैंशमा वीर रस नहुने। बुढ्यौलीमा श्रृंगार रस नहुने भन्ने हुँदैन। त्यसैले त्यो व्याख्या नै गलत छ।