काठमाडौं- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन कायम राख्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्नुअघि बसेको पदाधिकारी बैठकले यस पटक सरकारको नेतृत्व आफ्नो हुनुपर्ने निर्णय गरेको छ।
पदाधिकारी बैठकपछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता, हितराज पाण्डेलाई प्रमुख सचेतक र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ। प्रचण्ड दलको नेता चयन भएसँगै सरकार निर्माणबारे अन्य दलहरूसँग संवाद र छलफल अघि बढाउने निर्णय पनि माओवादीले गरेको छ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्ष निकालेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार पुस १० गते साँझ ५ बजेसम्ममा बहुमतसहित सरकारको दाबी गर्न दलहरुलाई समय दिएकी छन्।