काठमाडौं– चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका संघीय संसद्का सदस्यहरुको शपथग्रहण आज बिहीबार हुँदैछ। शपथका लागि दिउँसो १ बजेको समय तोकिएको छ। सबैभन्दा बढी उमेरका सांसद पशुपतिशमशेर राणाले बाँकी २७५ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। राणाले भने हिजै राष्ट्रपतिबाट शपथ ग्रहण गरिसकेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहानैदेखि चहलपहल छ। नवनिर्वाचित सांसदहरु निकै स्फुर्तिका साथ संसद् भवन पुगिरहेका छन्। कतिपय सांसद आफ्नो समुदायको मौलिक भेषभुषामा सजिएका छन् भने कतिपय दौरा सुरुवालमा ठाँटिएका छन्। केही भने कोट प्यान्टमा छन्। महिला सांसद धेरैजसो मौलिक पोशाक वा साडीमा छन्। नेकपा एमालेले त सबै सांसदलाई राष्ट्रिय पोशाक लगाएर जान भनेको छ।