काठमाडौं– ४ मंसिरपछि निर्वाचित प्रतिनिधिसभा सांसदले बिहीबार दिउँसो १ बजे सपथ लिने कार्यतालिका सार्वजनिक गरिएको छ। हलसम्म २६ सांसदले मातृभाषामा सपथ लिन संसद् सचिवालयमा नाम दर्ता गराएका छन्।
प्रतिनिधिसभामा राष्ट्रिय भाषा नेपालीबाहेक मातृभाषामा सपथ लिन चाहनेका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन सक्ने संसद् सचिवालयले बताएको छ। २६ सांसदले सन्थालदेखि संस्कृतिसम्मका भाषामा सपथ लिनेछन्।
एमालेका राज अहमद फारुकीले उर्दू, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा सपथ लिन निवेदन दिएका छन्। यस्तै, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा सपथ लिनेछन्।
रौतहट २ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा सपथ लिनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले नेपाली भाषामा सपथ लिने गरी निवेदन दिएका छन्। ईश्वरको ठाउँमा अल्लाह राख्ने गरी उनले सपथ लिने संसद् सचिवालयले बताएको छ।रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनीष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा सपथ लिन सचिवालयमा निवेदन दिएका छन्।
संसद् सचिवालयका अनुसार थारु भाषामा सपथ लिन ६ जनाले निवेदन दिएका छन्। राप्रपाका अशोककुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारु भाषामा शपथ लिने गरी निवेदन दिएका हुन्। स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा सपथ लिनेछन्।
जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त राउत, विनिताकुमारी सिंह र अनिता देवीले मधेसी भाषा (मधेसमा बोलिने जुनसुकै भाषा)मा सपथ लिन नाम दर्ता गराएका छन्।