काठमाडौं- काठमाडौंमा यही पुस आठ गतेबाट नेपाल टि–२० क्रिकेट फ्रेन्चाइज लिग हुने हल्ला छ। तर यसबारे आयोजक नेपाल क्रिकेट संघ (क्यान) र उसको कमर्सियल पार्टनर सेभेन थ्री स्पोर्टसले एउटा विज्ञप्ति जारी गर्नुबाहेक अन्य पहलकदमी लिएका छैनन्।
आयोजक नै सुस्त भएपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा विराटनगरका मालिक राकेश गुप्तातर्फ प्रश्न तेर्सिएको थियो। ‘प्रतियोगिताको चाँजोपाँजो नै मिलिरहेको छैन। तीन पटक सरिसकेको छ। खेल नै भएन भने के यहाँ गर्नुहुन्छ?’
गुप्ताका तर्फबाट टिम म्यानेजर तथा कोवनर राहुल शर्माले हिन्दी भाषामै व्यंग्यात्मक जवाफ दिए, ‘नेपाल घुमेङ्गे, विराटनगर जाएङ्गे, जनकपुर नहीँ गए जनकपुर होके आएङ्गे। पशुपतिनाथके दर्शन करेङ्गे। देश घुमेङ्गे। इतना सारा खर्च हो चुका हे, हिमालयपे जाएङ्गे। १०–१५ दिन हाइकिङ करेङ्गे। हमको क्या दिक्कत हे ?’(नेपाल घुम्छु, पशुपतिनाथ जान्छु, जनकपुर गएको छैन त्यहाँ पुगेर आउँछु। पशुपतिनाथ दर्शन गर्छु र देश घुम्छु। यति धेरै खर्च त भइनै सकेको छ। अब हिमालय घुम्न जान्छु। १०–१५ दिन हाइकिङ गरेर फर्किन्छु। मलाई के समस्या छ र)
अहिले कतिपय क्लबहरु नै प्रतियोगिताबारे अन्योल अवस्थामा छन्। जनकपुर र विराटनगरबाहेक क्लबले टिम पनि घोषणा गर्न सकेका छैनन्। क्यानले पार्टनरका रुपमा सम्झौता गरेको सेभेन थ्री स्पोर्टसले पनि सम्पर्क नगरेको कुरा सार्वजनिक भएका छन्। अर्कोतर्फ क्लबले गरेको खर्च कसरी रिकभर गर्नेबारे पनि क्लबहरु अनविज्ञ छन्। खेलाडीमाथि ठूलो लगानी गरे पनि उनीहरुले खर्च उठाउन सक्ने अवस्था सिर्जना गरेका छैनन्। यता क्यानले अहिलेसम्म पुरस्कार रकम घोषणा गरेको छैन। ‘हाम्रो लगानीको सुरक्षाबारे कसैलाई चासो नै भएन। आयोजकले अहिलेसम्म हामीलाई पुरस्कार रकम पनि घोषणा गरेको छैन। तर पनि हामी क्रिकेटमा लगानी गर्न अघि सरिरहेका छौं,’ शर्माले अगाडि भने।
बायाँबाट क्रमशः टिम म्यानेजर राहुल शर्मा, मालिक राकेश गुप्ता र जिम्वावेका खेलाडी सिकन्दर राजा।
यता अहिलेसम्म कति खेलाडीले नेपालमा खेल्न पाउने पनि टुंगो लागिसकेको छैन। नेपाल टी–२० लिगका कुनै पनि क्लब दर्ता भइसकेका छैनन्। क्लब नै दर्ता नभएपछि उनीहरुमार्फत् खेलाडीले श्रमस्वीकृति लिन पाउने छैनन्।
यो समस्या अहिले लिगका सबै फ्रेन्चाइज क्लबलाई रहेको छ। के विराटनगरेले त्यो समस्या समाधान गरिसकेको छ त? त्यस्तोमा विराटनगरले आफ्नो कागजी कामकाज सबै सकेर क्यानलाई बुझाएको जानकारी शर्माले दिएका छन्। उनले आफ्नो तर्फबाट सबै काम सके पनि खेलाडीले खेल्न पाउने वा नपाउनेबारे कुनै स्वीकृति आइनपुगेको बताएका छन्। ‘मलाई लाग्छ यो प्रकृयामा नै छ। तर अहिलेसम्म खेलाडीले मैदानमा खेल्न पाउने गरी हामीले केहि पनि पाएको छैन,’ शर्माले भनेका छन्।
प्रतियोगिता सुरु हुन दुई दिन अघिसम्म पनि धेरै कुरा अनिश्चित रहँदा खेल आयोजना हुन्छ कि हुँदैन भन्ने कुरा नै चुनौतीपूर्ण बनेको छ। के प्रतियोगिता हुन्छ भन्ने निश्चित छ त? शर्माको जवाफ छ, ‘यो प्रश्न आयोजकलाई सोध्नुपर्छ। उनीहरुले के गरिरहेका छन् भन्ने थाहा पाउनुपर्छ। तर हामी तयार छौं।’
यता केही दिन अघिमात्र काठमाडौंले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो। काठमाडौं गोर्खा कान्तिपुरको स्वामित्वमा थियो। उसले नाम फिर्ता लिएपछि अर्को कम्पनीले एक हप्ताअघि मात्र काठमाडौंको फ्रेन्चाइज खरिद गरेको थियो।
विराटनगर क्लब चाहिँ कतिको प्रतिबद्ध छ भन्न प्रश्नमा क्लबका मालिक गुप्ताको तर्फबाट म्यानेजर शर्माले आफ्नो क्लब प्रतियोगिताका लागि प्रतिबद्ध भएको बताएका छन्। ‘हामी यसको सकारात्मक कुरालाई हेरिरहेका छौं। यहाँ के नराम्रो भइरहेको छ भन्नेबारे मैले त्यसमा ध्यान दिएको छैन। के राम्रो गर्न सकिन्छ सल्लाह पर्खिरहेको छु,’ शर्माले भनेका छन्, ‘क्रिकेट खेल्नै छ। जस्तो भोक लागेको छ खाना जस्तो भए पनि खानैपर्यो।’
हाम्रो टिम राम्रो छः रोहित पौडेल
विराटनगरका मार्की तथा उपकप्तान रोहित कुमार पौडेल।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल विराटनगरको उपकप्तान बनाइएको क्लबले घोषणा गरेको छ। उनी र जिम्वाबेका अलराउन्डर स्टार खेलाडी सिकन्दर राजालाई छोडेर क्लबले कप्तानीको जिम्मेवारी भने वेस्ट इन्डिजका आन्द्रे म्याक कार्थीलाई दिएको छ। आफ्नो टिमबारे जानकारी दिँदै रोहितले सबै पक्ष सन्तुलित रहेको र लिग खेल्न इच्छुक रहेको बताएका छन्। ‘हाम्रो टिममा उत्कृष्ट युवा खेलाडी रहेका छन्। हाम्रो टिममा सिनियर खलाडीको पनि कमी छैन। उनीहरुको अनुभवबाट युवा खेलाडीले सिक्नेछन्,’ रोहितले भनेका छन्।
उनले सकारात्मक भएर प्रतियोगिता पर्खिएर बसिरहेको पनि बताएका छन्। कप्तान कार्थीले चाहिँ नेपाल आएर खेल्न पाएकोमा खुसी व्यक्त गरेका छन्। ‘म यो प्रतियोगितामा आफ्नो सबै अनुभव सेयर गर्नेछु। म यो टिमको कप्तान हुन पाएकोमा धेरै नै खुसी छु,’ विराटनगरका कप्तान क्यार्थीले भने।
यता जिम्वावेका अनुभवी खेलाडी सिकन्दर राजा आफ्नो क्लबका मालिक आयोजनाको विषयलाई लिएर जसरी दिक्क मानिरहेका थिए। उनले त्यो निकै मजाले बुझेका छन्। किनभने नेपाल बुझेका विदेशी खेलाडीमा पर्छन् सिकन्दर। उनी पछिल्लो समय ईपिएल खेल्नका लागि नेपाल आएका थिए। त्यतिबेला विराटनगर वारियर्सबाट खेल्दा उनको कप्तान करण केसी थिए। ‘मलाई यहाँ दोस्रोपटक बोलाउनुभएकोमा म धेरै खुसी छु।’
जिम्वावेको ए टिमले केहि महिनाअघि नेपालसँग कीर्तिपुर मैदानमा हार बेहोरेको थियो। ‘नेपालले हामीलाई हराएको थियो। पछिल्लो समय नेपालले घरेलु मैदानमा यूएईलाई पनि हराएको छ। नेपालले यहाँ एक साइड खेलिरहेको छ,’ उनले भने, ‘अहिले यस्तो प्रतियोगिता हुँदा यहाँका खेलाडीले धेरै सिक्न पाउनेछन्। नयाँ खेलाडी जन्मिनेछन् र खेलाडीलाई अनुभव हुनेछ। म आफ्नो दिमागले भ्याएसम्म खेल्नेछु।’
यदी विराटनगरले यो उपाधि जितेको अवस्थामा मालिक गुप्ताले क्लबलाई १० लाख रुपैयाँ दिने वाचा गरेका छन्। यो लागत माथिको रकम हो।