शुक्रबार, वैशाख १४, २०८१

नेपाली राजनीतिमा देउवाका आधा दर्जन रेकर्ड

अचम्म के भने देउवालाई अहिलेसम्म अरु दलका नेताले जस्तो प्रधानमन्त्रीका लागि उतिविघ्न दौडधुप गर्नुपरेको छैन। जति पटक उनी प्रधानमन्त्री बनेका छन्, ‘आइलागेको’ भन्दा अनर्थ हुँदैन।
 |  बिहीबार, पुस ७, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बिहीबार, पुस ७, २०७९

काठमाडौं- संसदीय राजनीतिमा अपराजित नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलको नेतामा विजयी भएका छन्। इतर समूहका गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै उनी संसदीय दलको नेतामा चुनिए।

triton college

बुधबार सम्पन्न निर्वाचनमा ८९ मध्ये देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाए। योसँगै उनी पाँचौं पटक संसदीय दलको नेता बनेका छन्। यति मात्रै होइन, उनको नाममा रेकर्ड नै रेकर्ड छन्, जुन नेपाली राजनीतिमा देउवा मात्रै एक्ला व्यक्ति हुन्।

पाँच पटक संसदीय दलको नेता

बुधबार निर्वाचित भएसँगै देउवाको नाममा पाँच पटक संसदीय दलको नेता जित्ने नेताको रेकर्ड बनेको छ। पहिलो पटक २०५१ मै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए। दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०५६ मा सभापति कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर दलको नेताका रुपमा देउवालाई अघि बढाएका थिए। २०६४ मा भने संसदीय दलको निर्वाचनमा सहभागी देउवा रामचन्द्र पौडेलसँग पराजित भए। यता, दलको नेता बनेका रामचन्द्रले प्रधानमन्त्री भने जित्न सकेनन्।

२०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिएका थिए। संवैधानिक प्रावधानअनुसारको मत संख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भयो। त्यसपछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफंै बाहिरिए। त्यसपछि १७ पटक पौडेल खनालसँग पराजित भए। १८औं  पटकमा झलनाथले प्रधानमन्त्रीमा बाजी मारेका थिए। नेपाली राजनीतिमा उक्त परिघटनाको आजका दिनमा पनि चर्चा हुने गरेको छ।

corrent noodles
Metro Mart

पाँच पटक प्रधानमन्त्री

नेपालको इतिहासमा पाँचपटक प्रधानमन्त्री हुने एक्ला व्यक्ति थिए, सूर्यबहादुर थापा। तर पाँचौं पटक प्रधानमन्त्री भएर देउवाले आफूलाई सोही स्थानमा उभ्याइसकेका छन्। यतिबेला उनि छैटौं पटक प्रधानमन्त्रीको दौडमा छन्। पुनः प्रधानमन्त्री बने सम्भवतः उनको रेकर्ड नेपाली इतिहासमा आगामी दिनमा पनि तोड्न जोकोहीलाई सहज हुने छैन। देउवा प्रथम पटक कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै २६ भदौ २०५२ मा राजा वीरेन्द्रको सरकारमा प्रधानमन्त्री बनेका थिए। २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो दल थियो। कुनै पनि पार्टीले स्पष्ट बहुमत नआएको उक्त अवस्थामा मनमोहन अधिकारीको नेतृत्वमा ठूलो दलको हैसियतले एमाले सरकार बनेको थियो। तर अधिकारीले निर्वाचनको मिति तोकेर संसद् विघटनको प्रस्ताव राजा वीरेन्द्रसमक्ष प्रस्तुत गरे। सर्वोच्च अदालतमा मुद्दा पर्‍यो।

सर्वोच्चले सरकारको निर्णय उल्टाएपछि अधिकारीले प्रधानमन्त्रीबाट राजीनामा दिए। राप्रपाको समर्थनमा देउवाको नेतृत्वमा कांग्रेसको सरकार बनेको थियो। दोस्रो पटक पनि उनलाई त्यस्तै सौभाग्य मिल्यो। प्रधानमन्त्री गिरिजाप्रसादले कुनै निर्णयबेगर राजा ज्ञानेन्द्रलाई जानकारी नदिई माओवादीविरुद्ध सेना परिचालन गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र रुष्ट भए र गिरिजाको राजीनामा मागे। त्यसपछि फेरि एक पटक प्रधानमन्त्री पद देउवाको पोल्टामा पर्‍यो। ७ साउन २०५८ मा उनी दोस्रो पटक प्रधानमन्त्री भए। सोही वर्ष उनले संकट काल घोषणा गरे र माओवादीविरुद्ध सेना परिचालन गरे।

संकटकाल नलम्ब्याउने र देउवाविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने तयारी संसद्ले गरिरहेको चाल पाएपछि देउवाले संसद् विघटनका लागि राजासमक्ष प्रस्ताव पेस गरे। त्यसपछि कांग्रेसले उनलाई सामान्य सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गर्‍यो। ज्ञानेन्द्रले देउवालाई पदबाट बर्खास्त गरे। देउवाले पार्टी टुक्र्याएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे।

तेस्रो पटक २०६१ मा पुनः देउवालाई ज्ञानेन्द्रले प्रधानमन्त्री पदमा नियुक्त गरे। उनको काँधमा चुनाव गराउने जिम्मेवारी थियो। तर त्यसमा देउवा सफल हुन सकेनन्। ज्ञानेन्द्रले कू गर्दै देउवालाई असक्षम भन्दै बर्खास्त गरे।

२४ जेठ २०७४ मा देउवा माओवादी, राप्रपा, राप्रपा नेपाल, राजपा, फोरमलगायत दलको समर्थनमा फेरि प्रधानमन्त्री निर्वाचित भए। त्यतिबेला संसद्का ३८८ सांसदको समर्थनमा देउवा चौथो पटक प्रधानमन्त्रीमा चुनिएका थिए।

सर्वोच्चको आदेशले प्रधानमन्त्री 

७ जेठ २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि १४९ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे। २८ जेठ २०७८ मा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो। पाँचौं पटक प्रधानमन्त्रीमा बहाल रहेका देउवा चुनावपछि पुनः प्रधानमन्त्री बनिछाड्ने कसरतमै छन्।

अचम्म के भने देउवालाई अहिलेसम्म अरु दलका नेताले जस्तो प्रधानमन्त्रीका लागि उतिविघ्न दौडधुप गर्नुपरेको छैन, जति पटक उनी प्रधानमन्त्री बनेका छन्, ‘आइलागेको’ भन्दा अनर्थ हुँदैन।

अपराजित सांसद

२०४८ पछिका ७ वटै आमनिर्वाचनमा डडेलधुराबाट विजयी हुने नेता हुन् देउवा। २०४८ पछिका ६ निर्वाचनसम्म निरन्तर अपराजित रहेका दुई जना सांसदमध्ये विजयकुमार गच्छदार ४ मंसिर २०७९ को निर्वाचनमा पराजित भइसकेका छन्। अर्थात् हालसम्म सात पटकसम्म निरन्तर सांसद जित्ने एक्ला व्यक्ति देउवा नै हुन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ का सबै निर्वाचनमा डडेलधुराबाट अपराजित हुँदै विजयी भएका छन्।

पार्टी फुटाएर पुनः कांग्रेसमै भित्रिएर पनि दुई पटक सभापति

२०५८ मा देउवाले कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। तर २०६४ मा उक्त पार्टीलाई देउवाले कांग्रेसमै विलय गराए। उनले कांग्रेसमा वरिष्ठ नेताको पद पाए। पार्टी फुटाएर गइसकेका देउवा पछि फर्किएर कांग्रेसमै दुई पटक सभापति भइसकेका छन्। कांग्रेसको १४औं महाधिवेशनबाट अघिल्लो वर्ष उनी सभापतिमा निर्वाचित भएका हुन्। त्यसअघि २०७२ फागुनमा भएको १३औं महाधिवेशनबाट पहिलो पटक उनी कांग्रेस सभापतिमा चुनिएका थिए।

नेविसंघको पहिलो निर्वाचित अध्यक्ष

देउवा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पहिलो निर्वाचित अध्यक्ष हुन्। ६ वैशाख २०२७ मा काठमाडौंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघ स्थापना भएको थियो। २०२८ मा उनी नेविसंघ अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: Dec 22, 2022| 07:24 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...