काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले सांसदको सपथपछि मात्रै संसदीय दलको नेता छनोट गर्ने भएको छ। सांसदको सपथ बिहीबार हुने कार्यतालिका संसद् सचिवालयले तय गरेको छ। सबै राजनीतिक दलले संसदीय दलको नेता छानिसके पनि जसपाले हालसम्म त्यसबारे छलफलै थालेको छैन।
पार्टीभित्र संसदीय दलको नेता छनोटलगायत अन्य विषयबारे पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको प्रवक्ता मनीष सुमनले बताए। संघीय सांसदको सपथपछि संसदीय दलको नेता चयन हुने उनले जानकारी दिए।
जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि संसदीय दलको नेता को हुने भन्ने अन्योल छ। वरिष्ठताको आधारमा अशोक राईलाई संसदीय दलको नेता बनाउने चर्चा पार्टीभित्र चलिरहे पनि अहिलेसम्म फाइनल भइसकेको छैन। जसपाबाट प्रतिनिधिसभामा सात जनाको प्रतिनिधित्व छ।