काठमाडौं– प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदको शपथ ११ पुस सोमबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयले छलफल गरी शपथको मिति तोकेको हो।
प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार मध्याह्न १२ बजे नवनिर्वाचित ज्येष्ठ प्रदेश सांसद ७९ वर्षीय गयानन्द मण्डललाई शपथ ग्रहण गराउने समय निर्धारण गरिएको छ। त्यसपछि नवनिर्वाचित सम्पूर्ण प्रदेश सांसदलाई ज्येष्ठ सदस्य मण्डलले १ः३० बजे प्रदेशसभा भवनमा शपथ ग्रहण गराउने कार्यक्रम छ।
संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरुले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ। संविधानको धारा १८२ को उपधारा ५ मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।
९३ सदस्यीय प्रदेशसभामा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन्।