काठमाडौं– कांग्रेस मुख्यालय सानेपाले आउँदो ६ पुसमा संसदीय दलको नेता चयन गर्ने मिति सार्वजनिक गरेसँगै निर्वाचनका बेला केही मत्थर देखिएका पार्टीभित्रका गुट पुनः ब्युँतिन थालेका छन्।
कांग्रेसभित्र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई संसदीय दलको निर्विकल्प नेता मानिरहे पनि इतर समूहको शेखर कोइराला पक्षले ६ पुसको चुनावमा एउटै उम्मेदवार खडा गर्ने गरी आफूपक्षीय छलफल थालेको छ। सोमबार र मंगलबारको छलफलपछि शेखर समूहको एउटै उम्मेदवार महामन्त्री गगन थापालाई सभापति देउवासँग संसदीय दलको नेतामा भिडाउने सहमति बनेको छ।
संस्थापन पक्षमा प्रधानमन्त्रीका आकांक्षी खासै नभए पनि शेखर समूहमा रहेका आकांक्षीलाई मिलाउन धौधौ पर्ने अनुमान थियो। तर सोमबार र मंगलबार विभिन्न चरणमा भएका छलफलपछि थापालाई संसदीय दलको नेतामा उठाएर आगामी महाधिवेशनपछि सभापति हुन सहयोग गर्नुपर्ने सर्तसहित शेखर समूहले राखेको छ।
गगनलाई संसदीय दलको नेता बनाउन सभापति देउवा पक्षधर केही नेताहरू पनि खुलेरै लागेका छन्। युवा नेता प्रदीप पौडेलले देउवा क्याम्प छाडेर गगनलाई सघाउन आइपुगेका छन्। कांग्रेसमा पार्टी सभापति देउवाको पक्षमा ६० प्रतिशत सांसद रहेको अनुमान गरिएको छ भने गगनका पक्षमा यस्तो ४० रहेको बताइन्छ।
पछिल्लो संस्थापनभित्रै नेतृत्वका लागि दबाब खेपिरहेका सभापति देउवाका लागि हालसम्मको स्थिति खासै निराशाजनक देखिँदैन। देउवाले संसदीय दलको नेता बनेर पुनः प्रधानमन्त्री हुने चाहना राखिरहेका छन्। शेखर समूहले भने गगनलाई अगाडि सारेर देउवासँग मन्त्री पद बार्गेनिङ गर्ने रणनीति लिएको बुझ्न सकिन्छ।
आइतबार मात्रै गगनलाई नसघाउने संकेत दिएका नेता शेखर एकाएक मंगलबार सहमतिमा पुग्नुको कारण आगामी महाधिवेशनबाट पार्टी नेतृत्व आफूले लिने चाहना रहेको राजनीतिक विश्लेषण गरिँदै छ। आइतबार बीपी पुत्र शशांकले दादा शेखर संसदीय दलको नेतामा उठ्ने संकेत गरेका थिए।
कांग्रेसभित्र पुरानो पुस्ताका नेता देउवा, रामचन्द्रहरूले पार्टी र सत्तामा हालिमुहाली गरिरहेका बेला विद्यार्थी राजनीतिबाट उदाएका गगन, विश्वप्रकाशहरूले पुस्तान्तरणको आवाज बाहिर ल्याउँदै आएका छन्। गगनहरूको आवाजले कांग्रेसभित्रबाट मात्र नभई बाहिर पनि समर्थन पाउँदै गएको छ।
सोमबार र मंगलबार काठमाडौंका विभिन्न होटलका कोठाचोटामा भएका छलफलपछि शेखरको प्रस्तावमा गगनले संसदीय दलको नेताको उम्मेदवारी दर्ता गराएका छन्। गगनलाई थप हौसला दिनद धनराज, गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेलले समेत समर्थन दर्ज गराएका छन्। अझ समर्थकमा उपसभापति गुरुङ र महामन्त्री शर्माले गगनलाई साथ दिएका छन्।
कांग्रेसलाई पुस्तान्तरण गर्न आफूले गगनलाई सघाएको नेता शेखरले प्रस्ट पारेका छन्। अहिलेसम्म पार्टी सभापति देउवा वा थापामध्ये संसदीय दलको नेतामा एक जना चुनिनेछन्। बुधबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ।
कांग्रेसको १४औं महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका प्रदीप पौडेलले पनि थापालाई सघाउनेछन्। दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडेका छन्। सोमबारको छलफलमा नेता शेखर, महामन्त्री थापासहित नेताहरू चन्द्र भण्डारी, दिलेन्द्र बडू, बद्री पाण्डेलगायत सहभागी थिए। बैठकमा शेखर समूहमा आबद्ध सबै सदस्यबीच छलफल गर्ने निर्णय गरिएको थियो।
कांग्रेसभित्र पुरानो पुस्ताका नेता देउवा, रामचन्द्रहरूले पार्टी र सत्तामा हालिमुहाली गरिरहेका बेला विद्यार्थी राजनीतिबाट उदाएका गगन, विश्वप्रकाशहरूले पुस्तान्तरणको आवाज बाहिर ल्याउँदै आएका छन्। यसका लागि उनीहरूले पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन्।