आइतबार, वैशाख १६, २०८१

गाउँमा खेलेको अनुभवबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल खेलाउन ठीक पारेका १४ खेलाडीमध्ये कसैले सिनियर टिमबाट खेलेका छैनन्। कप्तान धिरज एक्ला खेलाडी हुन् जो यहि वर्षको सुरुमा सम्पन्न एनभीए लिगमा उत्कृष्ट युवा खेलाडी भएपछि सिनियर टिमको क्याम्पमा परेका थिए।
 |  मंगलबार, पुस ५, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, पुस ५, २०७९

काठमाडौं– दशरथ रंगशालाको भलिबल कभर्डहलमा पछिल्ला ४० दिन नयाँ केहि भइरहेको थियो। जहाँ भलिबल संघले इतिहासमै पहिलो पटक २३ वर्षसम्मका खेलाडीको राष्ट्रिय टिम बनाएको थियो र प्रशिक्षण गराइरहेको थियो। खुला छनोटमा आएका ८६ खेलाडीबाट प्रशिक्षक जगदीश भट्टको टोलीले २० जना खेलाडी प्रशिक्षणका लागि छानेका थिए।

triton college

अहिलेसम्म बन्द प्रशिक्षणमा पनि नपरेका खेलाडीहरु उक्त शिविरमा रहे। कतिपयले राष्ट्रिय प्रतिस्पर्धा नै खेलेका थिएनन्। उसो भए कसरी कसरी राष्ट्रिय टिममा पुगेका थिए त? मुख्य प्रशिक्षक भट्टले भनेका छन्, ‘यसअघि गाउँघरमा अलिअलि खेलेका, भलिबल खेल्न मन भएका खेलाडी यो टिममा छन्। उनीहरुको सम्भावना र उमेरलाई मध्यनजरमा राखेर टिममा स्थान दिइएको हो।’

पहिलो पटक शिविरमा बसेका खेलाडीलाई नियम बुझाउन–सिकाउन समय लागेको कप्तान धिरज बस्नेतले पनि देखेका छन्। ‘नयाँ खेलाडी भएर भलिबलको नियमित अभ्यास गर्न पनि बानी पर्नुपर्ने थियो,’ यसअघि सिनियर टिमको बन्द शिविरमा बसिसकेका धिरजले भने। यही पुस ७ देखि ११ गतेसम्म हुने यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि बनेको नेपाली टिम हो यो। सेन्ट्रल जोन भलिबल संघ (काभा)ले इतिहासमै पहिलो पटक गर्न लागेको यो प्रतियोगिताका लागि नेपालले टिम बनाएको प्रशिक्षक भट्टले बताएका छन्।

‘फाइनल कम्पोजिसन बनाउन ४०–५० दिन जति लाग्यो। कहिल्यै बन्द प्रशिक्षणमा नबसेका खेलाडीहरुका कमजारी पूरा सुधार गर्न सक्ने अवस्था चाहिँ छैन। खेलाडीले फर्मेसनलाई पनि धेरै राम्रोसँग बुझ्न सकेका छैनन्। राम्रो लयमा आउने कुरा अहिल्यै नै अपेक्षा गर्न हुँदैन,’ खेलाडीबारे प्रशिक्षक भट्टले भनेका छन्, ‘प्रशिक्षकको नजरमा नपरेको तर टिममा पर्नसक्ने सम्भावना भएका खेलाडी हामीले लिएका हौं।’

प्रशिक्षकले अन्तर्राष्ट्रिय खेलाउन ठीक पारेका १४ खेलाडीमध्ये कसैले सिनियर टिमबाट खेलेका छैनन्। कप्तान धिरज एक्ला खेलाडी हुन् जो यहि वर्षको सुरुमा सम्पन्न एनभीए लिगमा उत्कृष्ट युवा खेलाडी भएपछि सिनियर टिमको क्याम्पमा परेका थिए। त्यसैले पनि प्रशिक्षक टोलीले उनलाई कप्तानीमा विश्वास गरेका छन्। ‘यो निकै जिम्मेगवार पद हो। पहिलेको सिनियर टिममा अन्तिम १४ सम्म पुगेको थिएँ। यू २३ मा कप्तानको भूमिका गर्न पाउँदा खुसी लागिहाल्छ नि,’ उनले भने। आफ्नो खेलाडी साथीहरुको अवस्था उनले पनि विचार गरेका छन्। ‘कतिलाई अभ्यास कस्तो हुन्छ भन्ने नै थाहा थिएन। सिधै आएर छनोटमा परेपछि उनीहरुले अभ्यास गर्न सिकेका छन्। उनीहरुलाई यो अवसर पनि हो,’ धिरजले भने, ‘आधाजति खेलाडी अनुभव नभएका छन्। उनीहरुलाई बेसिक माथिका सबै कुरा जान्नका लागि समय लाग्यो।’

corrent noodles
Metro Mart

धिरजका अनुसार फरक फरक वातावरणबाट आएका खेलाडीहरुको सेन्टिमेन्ट क्याच गरेर भलिबलमा दत्तचित्त भएर लगाउनका लागि अभ्यासले धेरै सहयोग गरेको छ। अभ्यासमा राम्रो गर्दै गएमा सिनियरमा मात्र यो टिममा छनोट हुने अवस्था थियो हो। ‘अभ्यासमा टेक्निकल कुराहरु सिकाइन्छ। भलिबल बेसिक सिकेकै हुनुपर्छ। त्यसले कौशल बढ्छ, ट्याक्टिस हुन्छ। त्यो क्याच गर्न सक्यो भने अभ्यास राम्रो हुन्छ,’ धिरज अझै गहिराइमा टिमबारे बताउँछन्।

प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल खेलाउन ठीक पारेका १४ खेलाडीमध्ये कसैले सिनियर टिमबाट खेलेका छैनन्। कप्तान धिरज एक्ला खेलाडी हुन् जो यहि वर्षको सुरुमा सम्पन्न एनभीए लिगमा उत्कृष्ट युवा खेलाडी भएपछि सिनियर टिमको क्याम्पमा परेका थिए।

यू–२३ टिमले दिनको दुई पटक अभ्यास गरेको थियो। ‘कहिले हार्ड ट्रेनिङ कहिले सफ्ट। अनुभवको कमी भएकाले आर्मी पुलिसको सिनियर टिमसँग अभ्यास खेलाएका छौं। यसबीचको दुई महिनामा खेलाडीको गुणस्तर विकास हेर्दा धेरै माथि पुगेको चाहिँ छ। उनीहरुको इच्छाशक्ति, शारीरिक र मानसिक स्थिति ठीक भएकाले सिकाएअनुसार गरिरहेकै देखेको छु,’ नेपाल समयसँगको कुराकानीमा प्रशिक्षक भट्टले भने, ‘यो टिमले धेरै छिटो सिकिरहेको छ।’

विभागीय टिमसँगको अभ्यास खेलले खेलाडीको मनोबल बढाउनकासहयोग गरेको धिरजको पनि ठम्याइ छ। तर सिकेका कुरा पूरा तवरले खेलमा लागू गर्न सक्छन् वा सक्दैनन् भन्ने अहिलेको मूख्य चुनौति प्रशिक्षकलाई छ। यसको कारण अन्तर्राष्ट्रिय एक्सपोजर नहुनु हो। किनभने धेरै खेलाडीहरु ठूलो खेल नै नखेलेका पनि त छन्। तर उनीहरुको प्रशस्तै सकारात्मक पक्षहरु छन्। ‘उचाइ र रिच हेर्दाखेरी एक वर्षपछि सिनियर टिममा स्थान बनाउने क्षमता भएका खेलाडी निस्किनेछन्। दुई मिटरका खेलाडी पनि छन्। त्यसैले यो प्रतियोगितामा अहिले नै जित्ने र हार्ने भन्दा पनि नेपालको नयाँ टिमलाई निर्माण गर्ने हिसाबले अघि बढ्ने हो। अन्तर्राष्ट्रिय खेलाइरहने हो भने अब्बल टिम बन्न सक्ने देखिन्छ,’ यो टिमबारे प्रशिक्षक भट्टको भनाइ छ।

उनले कम उमेर भएका खेलाडीलाई पनि टिममा स्थान दिएका छन्। उमेर समूहको आउँदा प्रतियोगितालाई ध्यानमा राखेर त्यसो गरेको उनले बताएका छन्। त्यसैले यो नेपाली मिश्रित खेलाडीको टोली हो। ‘मेन्स भलिबल टिमको भविष्यको लागि धेरै राम्रो सन्देश प्रवाह गर्ने सम्भावना भएको टिम बनेको छ,’ प्रशिक्षकले भने।

कस्ता छन् नेपालका प्रतिस्पर्धी?
यो प्रतियोगितामा नेपालले श्रीलंका, कीर्गिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। एक समय यस्तो थियो कि यी देश बराबरीका थिए। त्यसपछि उनीहरुले घरलु संरचना बलियो बनाउँदै लगे। खेलाडीलाई एक्सपोजर दिए अनि बलिया भए। यता नेपाल उस्तै रह्यो।

‘बंगलादेशलाई तीन–चार वर्षबाट हराउन सकिरहेका छैनौँ। त्यसअघि हाम्रो स्तर उस्तै थियो। कहिले हामीले जित्थ्यौं कहिले उसले। तर सात–आठ वर्षबाट बंगलादेशको घरेलु संरचना बलियो बनिसकेको छ। उसले यू–१२ देखि माथि सबै उमेरको टिम बनाएर नियमित अभ्यास र प्रतिस्पर्धा गरिरहेको छ। अन्तर्राष्ट्रिय सहभागिता पनि गराइरहेको छ,’ प्रशिक्षकले प्रतिस्पर्धीबारे भने।

सुरुमा त बंगलादेशसँग पाँच सेटमा खेलेर हारेको नेपालसँग अनुभव छ, श्रीलंकासँग पनि त्यस्तै हुन्थ्यो। अहिले भारतसँगै यि दुई देश एसियाका उत्कृष्ट खेलाडी भएको देशमा आउँछ। यो प्रतियोगितामा उज्वेकिस्तानले नाम फिर्ता लिए पनि कीर्गिस्तान हुनेछ। ‘हामीसँग खेल्ने देशहरु धेरै राम्रा छन्,’ प्रशिक्षक भट्टले भने, ‘जित्ने भन्दा पनि उत्कृष्ट फाइट दिनेमा ध्यान दिनेछौं। हाम्रा खेलाडीले कत्तिको आत्मविश्वासका साथ खेल प्रदर्शन गर्छन् भन्ने कुराले अर्थ राख्छ।’ यद्यपि खेलमा युवा टोलीको उर्जा र जोशमाथि देशले र संघले आशा राखेका हुन्छन्। जित दिलाउने दबाब पनि हुन्छ। कप्तान धिरज भने दबाब नलिएको बताउँछन्। भन्छन्, ‘कप्तानीको पद पाएपछि सबैलाई सम्हालेर टिमसँगै हिँड्नुपर्ने हुन्छ। तर जित्नैपर्छ भन्ने दबाब चाहिँ लिएको छैन। एक मेडलको लागि प्रतिस्पर्धा गर्ने हो।’

उनी अगाडि भन्छन्, ‘बंगलादेश र श्रीलंकामा उमेर समूहका खेल भइरहेको हुन्छ। हामी पहिलो पटक सहभागी बन्दा टिम निर्माणदेखि सबै कुरामा गाह्रो छ। अभ्यासमा सिकेको कुरालाई राम्रो तरिकाले प्रदर्शन गर्न सके एक न एक पदक भने आउला। आशा चाहिँ चौथो नभएर एक पदक ल्याउने नै हो।’

गोल्ड मेडल ल्याउने गरीको महत्वकांक्षी बन्न सक्छौं त भन्ने प्रश्नमा धिरजको जवाफ छ, ‘यो त पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो। राम्रो गर्ने चाहना राखेका छौं। यो नै मुख्य कुरा हो। टिमको प्रदर्शन पनि हेर्न बाँकी छ।’

भलिबल संघका उपाध्यक्ष गौतम लाशिवा भन्छन्, ‘यू–२३ भनेको भलिबलको राष्ट्रिय टोलीको रिजर्भ टिमसमेत हो। यो प्रतियोगिता नेपाली भलिबल खेलको विकासको लागि खुड्किलो हुनेछ। र, यसले राष्ट्रिय टिम बनाउन सहयोग गर्नेछ। पदक ल्याउने कुरामा म विश्वस्त छु। अहिलेको परिस्थितिमा खेल व्यवस्थापनलाई साह्रो–गाह्रो परेको अवस्था छ। यद्यपि भलिबललाई सहयोग गर्ने कुरामा विश्वस्त छु।’

नेपाली टिमलाई गत आइतबार राखेप सदस्य सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष जितेन्द्र चन्दले राष्ट्रिय झण्डा प्रदान गरेर विदाइ गरेका थिए। उनले भलिबल संघले आगामी दिनमा खुला छनोटबाट नभएर प्रतियागिता खेलाएर खेलाडी छनोट गर्नुपर्नेमा संघको ध्यान जानुपर्ने बताएका छन्। त्यस्तै उनले उमेर समूहको घरेलु प्रतियोगिता बढाउनु पर्नेमा पनि जोड दिएका छन्।

कार्यक्रममा उनले भने-

राखेपमा सदस्य सचिवको जिम्मेवारी लिँदादेखि नै आन्तरिक रुपले उमेर समूहको प्रतियोगिता बढाउनुपर्छ भन्ने कुरा मैले अपिल गरिरहेको हुन्छु। त्यो अनुसार भलिबल संघले यू–२३ को टिम बनाएर अन्तर्राष्ट्रिय खेलमा सहभागी बनाउन गइरहेको छ। यो कुराले आगामी दिनमा संघले उमेर समूहको थप प्रतियोगिता गरेर खेलाडी छनोट गर्नेछ भन्ने कुराको म विश्वास राख्छु। हुनसक्छ यू–१९, यू १८ र यू १६ को आन्तरिक प्रतियोगिता गरेमा परिषद्ले सहयोग गर्नेछ।

यसपटक खुला छनोट भयो अब प्रतियोगिता भएरै मात्र छनोट हुनुपर्छ। यो सेन्ट्रल जोनमा चार टिमबीचमा आफूलाई अब्बल सावित गर्नका लागि एकले अर्कालाई सहयोग गर्नुपर्ने छ। खेलाडीले अभ्यासको दौरान पनि सिकेको होलान्। क्रिकेटमा टेस्ट खेलमा जस्तो धेरै समय खेलिरहनु पर्छ। मैले देखेँ– संघले विभागीय टिमका सिनियर र अघिदेखि खेलिरहेका खेलाडीसँग यो टिमको अभ्यास खेल गराएको पनि छ। त्यस्तै जगदिश भट्ट आफैं जोधाहा प्रशिक्षक हुनुहुन्छ। आफैं मेहेनत गर्ने प्रशिक्षक हो उहाँ।

मैले देखेको थिएँ, लुम्बिनीमा पनि प्रतियोगिता हुँदा ४० विद्यालयको सहभागिता थियो। नेपालमा यत्रो धेरै भलिबलको क्रेज रहेको छ। यस्तो खेललाई हामीले सम्मान गर्नुपर्ने हुन्छ। अनि यस्तो क्रेज भएको भलिबलको राष्ट्रिय टिममा अझै प्रतिस्पर्धा हुनेवाला छ।

सिनियर टिममा स्थान बनाउन धेरै अभ्यास गर्नुपर्ने हुन्छ। देशमा सयौँ हजारौँ खेलाडी भएका कारण उनीहरुले यसलाई अवसरको रुपमा पनि लिनुपर्ने हुन्छ। अनि अहिलेको जुन टिम छ त्यसलाई म पूरा भरोषा गर्दछु। उपाधि जितेर फर्किएमा देशले सम्मान गर्ने कुरा हिजो र आज उस्तै छैन। उपाधि दावेदारलाई काननुले नै पुरस्कारको व्यवस्था गरेको छ। पुरस्कारको लागि हामी थप पहल गर्नेछौं। 

अध्यक्ष जितेन्द्र चन्द भन्छन्

टिम बनाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। हाम्रो किट बनाउने केल्मीदेखि जापनाको भलिबल संघले पनि सहयोग गरेको छ। विभिन्न स्पोन्सरले यो सहभागिता पोसिबल बनाएको हो। सबै स्पोन्सरले साथ दिएको अवस्थामा हामीले यो वर्षमा धेरै प्रतियोगिता गर्न सक्नेछौं। यही वर्ष नै हामी १७ लाख पुरस्कार राशि भएको प्रतियोगिता गर्न लागेका छौं। म त्यो कुरा पनि यहाँ घोषणा गर्न चाहन्छु।

हामीले एभिसीसँग पनि सहयोग मागेका छौँ। राखेपसँग पनि सहयोग लिएर हामीले यो अभ्यास र प्रतियोगितामा सहभागिता गर्न सकेका छौं। यू–२३ सहभागिताको लागि निमन्त्रणा आएपछि छोटो समयमा राष्ट्रिय टिमको निर्माण गरेको हो।

सबैले काम गर्न सकेमा धेरै काम गर्न सकिन्छ। फागुनमा नेपाल सुपर लिग हुन्छ। फ्रेन्चाइज लिग भएपछि खेलाडीले खेल्ने प्लेटफर्म भेट्छन्। खेलाडी विभिन्न श्रेणीमा विभाजन हुनेछ। र खेलाडी व्यावसायिक हुनेछन्। यसले भलिबललाई थप सहयोग गर्नेछ।

नेपाली टिमः
धिरज कुमार बस्नेत (कप्तान), रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ (लिवेरो)।

मुख्य प्रशिक्षक जगदीश भट्ट, सहायक प्रशिक्षक भरत यादव, टिम व्यवस्थापक जितेन्द्र श्रेष्ठ।

प्रकाशित: Dec 20, 2022| 07:23 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।