काठमाडौं - शिक्षक सेवा आयोगले शिक्षक पदपूर्ति र बढुवाका लागि प्रक्रिया अघि बढाएसँगै असोज सम्ममा शिक्षकको नयाँ विज्ञापन खुलाउने भएको छ। आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको स्थायी पदपूर्तिका लागि रिक्त दरबन्दीको विवरण अधावधिक गरेर पठाएसँगै विज्ञापनका लागि प्रक्रिया थालेको हो।
केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरुलाई २०७८ साल चैत मसान्तसम्म रिक्त हुने शिक्षक दरबन्दीको विवरण १० भदौभित्र पठाउन निर्देशन दिइसकेको छ। असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने नवनियुक्त अध्यक्ष मधु रेग्मीले जानकारी दिए। उनले भने, ‘शिक्षकको १४ हजार ७५० रिक्त दरबन्दी अद्यावधिक गरेर पदपूर्ति गर्न अगामी असोजमा विज्ञापन खुलाउने तयारीमा छौं।’
केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाए भए पनि २०७८ चैत मसान्तसम्ममा रिक्त हुने शिक्षकको दरबन्दी पठाउन निर्देशन दिएको हो।
संघीय शिक्षा ऐन बनिनसकेकाले पुरानै ऐनअनुसार आयोगले सामुदायिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा विज्ञापन गर्न लागेको हो। लामो समयदेखि पदाधिकारीविहीन भएको आयोगमा पदाधिकारी नियुक्ति भएसँगै चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्तिका लागि आयोगले विज्ञापन गर्न लागेको हो। यसअघि २०७४ सालमा आयोगले खुला शिक्षकका लागि पदपूर्ति गरेको थियो।