धनगढी- असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन्। दिनदहाडै प्रहरीकै अगाडि गोली प्रहारगरी व्यवसायीमाथि लुटपाट भएको भन्दै उनीहरूले पसल बन्द गरेका हुन्। सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले व्यवसायीमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गरेर आन्दोलित बनेका हुन्।
दिनदहाडै गोली प्रहारगरी सुन लुटिएको घटना सामान्य नभएको बताउदै अध्यक्ष लामिछानेले घटनामा संलग्नको पहिचानगरी पक्राउ नगरेसम्म व्यवसायीहरू सुरक्षित नहुने बताए। उनले अहिले एक जनालाई परेको उक्त घटनापछि अरु व्यवसायीमाथि समेत हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरे।
सोमबार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेशको सशस्त्र प्रहरी मुख्यालयनजिकै गोली प्रहार भएको थियो।
गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार)माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो।