अत्तरिया- कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरीर चिस्यान यन्त्र जडान गरिएको छ।
गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा पहिलोपटक शव चिस्यानकेन्द्र राखिएको हो। अत्तरियाका व्यवसायी मनोज अग्रवालले अस्पताललाई उक्त यन्त्र प्रदान गरेका हुन्। उनले स्वर्गीय बुवा मूलचन्द अग्रवालको सम्झनामा अस्पताललाई उक्त यन्त्र प्रदान गरेको बताए।
उनले बुबाको दुई महिनाको पूण्य तिथिको अवसरमा मालाखेती अस्पताललाई झण्डै दुई लाख पर्ने शव सुरक्षित यन्त्र हस्तान्तरण गरेका हुन्। तीन दिन अगाडि मनोज अग्रवाल दाजुभाइले धनगढीमा समेत यस्तो मेसिन हस्तान्तरण गरेका थिए।
गोदावरीका मेयर बीरेन्द्र भट्टमार्फत अस्पतालाई यन्त्र हस्तान्तरण गरिएको हो। यस्तो यन्त्रले हप्ता दिनसम्म पनि शवलाई सुरक्षित राख्न मिल्नेछ। मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख भट्टले यसले अस्पताललाईमात्र नभएर नगरलाई ठूलो सहयोग पुग्ने बताए।