काठमाडौं– नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ। शनिबार महाराजगञ्जस्थित कून्डलिनी दरबार बैंक्वेटमा आयोजित समरोहकाबीच पुस्तक विमोचन गरिएको हो। पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जेके शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तिको भूमिका उजगार गरेको छ। पुस्तकमा तात्कालीन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन्।
नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन्।
जेके शिनको अभिभावक्तवमा तेक्वान्दोलाई देशब्यापी विस्तार तथा नेपालले अन्तराष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीको सचित्र वर्णनले पाठकलाई तात्कालिन समयको स्मृतिमा लग्ने विश्वास लिइएको छ।
चिफ ग्रान्ड मास्टर जेके शिनका शिष्य क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगडीयर जनरल डा. सुधासेन मल्ल, लेफ्टीनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र ईन्द्र गुरुङद्वारा आयोजित कार्यक्रममा नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडीयर जनरल डा. सुधा सेन मल्लले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र बिकासका लागि जेके शिनले पु¥याएको योगदान सदैब अविस्मरणीय रहने बताए। ‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीब्र बनाउनुपर्नेछ। तेक्वान्दोजस्ता विश्वपरिवेशमा देशलाई परिचित गराउने खेलको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्छ’, उनले भने।
पूर्व शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर बिष्टले नेपालमा तेक्वान्दोको स्थापनाकालका रोचक प्रसंग बताउँदै उनले भने, ‘विगतमा यस खेल प्रहरी र सेनालाई तालिमका क्रममा खेलाइन्थ्यो। तर, पछि यस खेलमार्फत अनुशासन पनि हुने हुनाले सबै आम जनतालाई खेलाउन लागिएको हो । यसको इतिहास हामीमाझ अझै ताजा छ।’ उनले जेके शिन नै नेपालको आधिकारिक तेकवान्दो संस्थापक रहेको बताए।
नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे। नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जेके शिनले तेक्वान्दो खेलको सुरुवत मात्र नभई, छोटो समयमा नै नेपाललाई अन्तराष्ट्रियस्तरका पदक दिलाउन अहम भूमिका खेलेको बताए।