ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको छ। खाम्लुङको दोभान बजारमा लाग्ने पुसे मेलाका लागि मेरिङ्देन गाउँपालिकाले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सूचना जारी गर्दै आज र भोलि अर्थात् आइतबार र सोमबार दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएको छ। बिदाका दिन गाउँपालिका मातहतका आकस्मिकबाहेक सरकारी कार्यालय, सामुदायिक विद्यालय र अन्य सङ्घ संस्थाहरू बिदा हुने सूचनामा उल्लेख गरिएको छ।
विगत लामो समयदेखि लाग्दै आएको पुसे मेला पूर्वकै ऐतिहासिक मेला तथा पर्वको रूपमा मान्ने गरिएको छ। मेरिङ्देन गाउँपालिका-३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका-५ चाँगेको सिमाना दोभान बजारमा पुसे मेला लाग्ने गरेको छ। पुसे मेला प्रत्येक वर्ष पुस १ गते सुरु भई ५ गते सम्पन्न हुने गरेको छ।