बुटवल- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन्। उनले समावेशिता, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको बताए। जागरण मिडिया सेन्टरको २३औं र रेडियो जागरणको १५औं बार्षिकोत्सवलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो कुरा बताएका हुन्।
राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट समेत प्रहार भएको उनको टिप्पणी छ। उनले नेपालका राजनीतिक दलहरूले समेत दलित समुदाय मुद्दा साझा बन्न नसकेको बताए। ‘मानव जातीको कलंकको रूपमा रहेको जातीय छुवाछुत सबैको साझा समस्या बन्नुपर्छ,’ मन्त्री गहतराजले भने, ‘त्यसैले दलित र गैरदलित दुवैले साझा अभियान चलाउनुपर्छ।’
सञ्चारमाध्यमले समाजको पिँधमा पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्दालाई अझ सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले संकट भोगिरहेको बताए। उनले जागरणले समुदायमा सञ्चारमाध्यम मार्फत सचेतना छर्ने काममा महत्त्वपूर्ण योगदान पुर्याएको बताए। उनले बुटवल उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताए।
त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले नेपाली मिडियामा अझै पनि दलित तथा सीमान्तकृतको मुद्दा प्राथमिकतामा नपरेको बताए। उनले २०५७ सालमा सञ्चार माध्यमले गरिब र दलितका समस्यालाई समाचार नबनाएकै कारण जागरण मिडिया सेन्टरको जन्म भएको बताए । उनले ६४ सालमा ५१, जना प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व भएकोमा ७९ सालमा आउँदा १६जनामा सीमित हुनुले समावेशितामाथि गम्भीर प्रश्न उठेको बताए।
कार्यक्रममा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव कमला देवी विश्वकर्माले अझै पनि पछाडि पारिएका समुदायको आवाज मिडियामा आउन नसकेको बताइन्।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनले सामाजिक न्यायको आन्दोलनको आवश्यकता नसकिएको पुष्टि गरेको बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्मा, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, दलित संघका नेता बुद्धिराम हरिजन, सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब)का उपाध्यक्ष मिलन गाहाले बोल्दै सञ्चार क्षेत्रमा जागरणले सामाजिक न्यायको सवालमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले २३ वर्षको यात्रामा थुप्रै आरोह र अवरोध पार गर्दै सामाजिक रूपान्तरणको अभियानमा सरिक भएको बताइन्।
यसैबीच रेडियो जागरणले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ। प्रस्तर मूर्तिकला, चित्रकार र जनप्रतिनिधिका रूपमा कार्यरत एचवी रम्तेल, पत्रकारिता र साहित्यकार दीपक विश्वकर्मा र पुराना सामाजिक व्यक्तित्व मिलन गौतमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। यसैगरी रेडियो जागरणमा कार्यरत बजार प्रमुख वीरेन्द्र कुँवर, प्राविधिक प्रमुख किसन बराल, संवाददाता अम्बिका परियारलाई संस्थाले सम्मान गरेको छ।