आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ देखि ११ सम्म आयोजना हुँदै

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ देखि ११ सम्म आयोजना हुँदै

यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञाप्रतिष्ठान छ। यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञाप्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

पोखरा- नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी दिन शनिबार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ। फेस्टिभल यही पुस ६ देखि ११ सम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदैछ। 

यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञाप्रतिष्ठान छ। यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञाप्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ।

फेस्टिभलका अघिल्ला संस्करण झैँ यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन्। फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आँकलन छ।

यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदैछ। साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।  साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जन–प्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ।

फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन्। फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ। फेस्टिभलको पहिलोदिन गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको छ। गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योञ्जनको स्वगारोहणको २५ वर्षमा उहाँप्रति फेस्टिभलको सम्मान हो। यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुती रहेको छ। फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने छ।  

यस्तै फेस्टिभलमा शिक्षा ३ सत्रहरु रहेका छन् साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०:३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको छ। 

‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ। उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिने कार्यक्रम छ।   

पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताए। ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौं। तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौं। त्यसमाथि यस वर्ष दशौं संस्करणको फेस्टिभल हो,’ उनले भने, ‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौं।’ 

पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए। यस फेस्टिभललाई पोखराबासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ। ‘अब त्यो प्रतीक्षाको घडी पनि सकिँदै छ,’ उनले भने, ‘हामी व्यग्रतासाथ फेस्टिभललाई कुरिरहेका छौं।’  

आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको बताए। तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ। ‘यस्ता फेस्टिभल अरु पनि यहाँ आयोजना हुनुपर्छ। यसले पोखरालाई फरक पहिचान दिन्छ। हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ।’ 

नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारी भन्छन्, ‘सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल दशौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको छ। यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउँछ।’ साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ। 

समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुर्‍याउने उनले बताए। ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ।’ फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि उनले बताए।  

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ। 

कोरोना भाइरस महामारीको प्रतिकुल अवस्थापछि फेस्टिभल पुन शुरु भएको छ। यो पल्ट आयोजना भएको फेस्टिभललाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक छ।

प्रकाशित: Dec 17, 2022| 20:50 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।