काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग प्रस्ताव गरेका छन्। शनिबार ललितपुर महानगरको १०४औं स्थापना दिवस अवसरमा आयोजित एक कार्यक्रममा मेयर बालेनले यस्तो प्रस्ताव गरेका हुन्।
दुवै काम काठमाडौं महानगर र ललितपुर महानगर एक्लाएक्लै गर्न नसक्ने भएकाले दुवै महानगरको सहकार्य आवश्यक रहेको मेयर बालेनको भनाइ छ। नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा मात्रै दुवै महानगरले सहकार्य गरेर गए काठमाडौं उपत्यकाको विकासका लागि राम्रो सन्देश हुने उनको धारणा छ।
मेयर बालेनले भने, ‘हाम्रा कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाःसम्बन्धी विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरले मिलाउँदा सहज हुन्छ।’
उनले काठमाडौं महानगर र ललितपुर महानगर छिमेकी दाजुभाइ जसरी बस्दै आएकाले सहकार्य गर्नुपर्ने धेरै कुरा रहेको सुनाए। मेयर शाहले सम्पदा संरक्षणमा ललितपुर महानगरबाट काठमाडौं महानगरले धेरै कुरा सिक्नुपर्ने बताए।