शनिबार, जेठ ३०, २०८३

थालिँदै सिद्धबाबामा सुरुङ मार्ग निर्माण प्रक्रिया

सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा सहज हुनेछ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं– बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले डिजाइन तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको  छ। 

National life

माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले बताएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग निर्माणपछि यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। 

आठ महिनाअघि ठेक्का सम्झौतापछि स्थलगत अध्ययन गरेपछि डिजाइनको काम सकेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ। डिजाइन स्वीकृतिपछि सुरुङ मार्ग निर्माणको काम प्रारम्भ हुने निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जनाएको छ। 

हाल ११ केभी विद्युत् क्षमता भएको विद्युत् विस्तारको काम भइरहेको छ। यस्तै, माटो परीक्षण सकेर रिपोर्ट प्राप्त भइसकेको सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनीले बताए। सुरुङ मार्गको डिजाइन अन्तिम चरणमा पुगेको र अब छिट्टै काम सुरु गरिने उनको भनाइ छ। 

डिजाइनको काम सम्पन्न भएपछि सुरुङ छेड्ने काम थालिने उनले जानकारी दिए। सुरुङ मार्ग निर्माण काम थालेको पाँच वर्षभित्र सक्ने योजना छ। आयोजनाका लागि ७ अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ। सिद्धबाबा क्षेत्रमा १ हजार १२६ मिटरको सुरुङ मार्ग बनाउने सम्झौतामा उल्लेख छ। 

Shivam cement

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यो क्षेत्रमा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौं यात्रुले ज्यान गुमाउनुपर्ने र घाइते हुनुपर्ने बाध्यता छ। सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा सहज हुनेछ।

प्रकाशित: Dec 17, 2022| 14:57 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्