शनिबार, चैत १४, २०८२

कहिले सकिएला दशरथ रंगशालाको पुनर्निर्माण?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- २९ भदौमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले आगामी माघमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गर्‍यो। दशरथ रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने आयोजकको योजना छ। तर, रंगशालाको पुनर्निर्माण फागुनमा पनि सकिने सम्भावना कमजोर छ।

१-१९ माघमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने एकेडेमीको योजना छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव केशवकुमार बिष्टले भने ९ माघपछि प्रतियोगिता आयोजना गर्न मिल्ने गरी पुनर्निर्माण सकिने बताएका थिए। र, एकेडेमीले पुनर्निर्माणपछिको पहिलो प्रतियोगिताका रूपमा अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने योजना बनाएको हो।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको रंगशालाको पुनर्निर्माण तीन वर्षपछि गत वैशाखदेखि मात्र शुरु भएको हो। आगामी १६ फागुनमा पुनर्निर्माण सक्ने लक्ष्य छ। तर, भीआईपी प्याराफिट भत्काउने जिम्मा पाएको गिरी कन्स्ट्रक्सनले असहज भएको बताउँदै डेढ महिना ढिलो काम थालेको थियो।



जनरल प्याराफिट भत्काउने काम भीमेश्वर बिल्डर्सले गरेको हो। सम्पूर्ण पुनर्निर्माणको जिम्मा पीएस-प्रतिष्ठा-किराँतेश्वर जेभीले पाएको छ।

अझ, तोकिएको मितिभन्दा केही ढिलो पुनर्निर्माण सकिने ठेकेदार कम्पनीको भनाइ छ। र, निर्माण चलिरहेको बेलामा प्रतियोगिता आयोजना गर्न नमिल्ने फिल्डमा खटिएका इन्जिनियरहरू बताउँछन्। काम पूरा नभएसम्म कसैले अवरोध गर्न नपाउने उनीहरूको भनाइ छ।

रंगशालाको जनरल प्याराफिटको ढलान र छाउने काम सम्पन्न भएको छ। भीआईपी प्याराफिट भत्काइसकिएको छ। यस हिसाबबाट रंगशालाको पुनर्निर्माण ५५ प्रतिशत मात्र सकिएको छ।

रंगशालाको मैदान भने ठीकै अवस्थामा छ। मैदानको दुबोमा पानी हाल्ने र सुक्न नदिने गरी स्याहार भइरहेकै छ। तर, समस्या प्याराफिट निर्माणमा छ। उक्त निर्माण पूरा नभएसम्म अन्तर्राष्ट्रिय त के स्थानीय तहका प्रतियोगिता पनि सञ्चालन गर्न सकिँदैन।

सन् १९९९ मा आठौं दक्षिण एसियाली खेलकुदको आतिथ्यता नेपालले गरेको थियो। त्यसलगत्तै चीन सरकारको सहयोगमा दशरथ रंगशालाको पुनर्निर्माण गरिएको थियो।

रंगशालाको हालको स्वरूप भने ०५५ सालमा तयार भएको हो। नेपालले आठौं साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निर्माणका लागि पुनः सहयोग गर्‍यो। आठौं साफकै सन्दर्भमा रंगशालामा ‘फर्ड लाइट’ र ‘स्कोर बोर्ड’ थपियो।

यस्तै, दर्शकहरू सहजै मैदानमा पस्न नपाउन् भनेर प्याराफिटका तीन वटा लेन फुटाइयो। प्याराफिटलाई रेलिङले पनि घेरियो। रंगशालाभरि पानीबाट प्रभाव नपर्ने ‘वाटर प्रुफ पेन्ट’ लगाइयो। पहिलोपल्ट आठ लेनको ‘सिन्थेटिक ट्रयाक’ पनि पुनर्निर्माण गरिएको थियो।
 

१३औं दक्षिण एसियाली खेलकुद (साग)को आतिथ्य गर्दैछ नेपालले। ९-१८ मार्च २०१९ तदनुसार आगामी २४ फागुनदेखि ४ चैतसम्म उक्त प्रतियोगिता सञ्चालन हुँदैछ। जसका कारण दशरथ रंगशालाको पुनर्निर्माण चाँडो सक्नुपर्ने दबाबमा छ, सरकार।



६५ वर्षे इतिहास

मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशालाको ६२ वर्षे इतिहास छ। ०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्याभिषेकभन्दा अगाडि यसको निर्माण भएको हो।

त्यसअघि हाल रंगशाला परिसरको कभर्ड हलबाहिरको खाली मैदानमा फुटबल खेलिन्थ्यो। त्यसलाई सानो टुँडीखेल भन्ने गरिएको थियो। राजा महेन्द्रको राज्याभिषेकको अवसरमा कुस्ती, एथ्लेटिक्स, फुटबल, ब्याडमिन्टन र टेबल टेनिस आयोजना गर्ने उद्देश्यले दशरथ रंगशाला निर्माण गरिएको हो।

सरकारले किरणसमशेर राणालाई रंगशाला निर्माणको जिम्मा दियो। उनले खाल्डो भएको स्थान सम्याउन लगाए। रातारात डोजर चलाएर काम पूरा गरियो। त्यसका लागि दुई महिना लागेको थियो। हतारमा तयार पारिएकाले शुरुमा मैदानको लेबल राम्रो थिएन। र, मैदानमा दुबो पनि थिएन। 

२०२२ सालमा यसलाई स्तरीय बनाउने प्रयास भयो। तर, आर्थिक अभावका कारण सफल हुन सकेन। ०२२ सालमा नेपाल र चीनबीच रंगशाला निर्माणका लागि सम्झौता भएको थियो। चीन सरकारले सिमेन्ट र छड उपलब्ध गराएको थियो। प्याराफिट निर्माणका लागि उत्तरतर्फको ढिस्को फोरियो। तर, पर्याप्त बजेट विनियोजन नभएकाले बीचैमा काम अड्कियो।

२०२४ सालमा राखेपको बोर्ड पुनर्गठन भयो। कुमार खड्गबिक्रम शाह परिषदको सदस्य-सचिव बने। अनि २०२७ सालमा पूर्व र उत्तरतर्फ ५-५ लाइनको प्याराफिट तयार भयो। सोही क्रममा कभर्ड हल पनि निर्माण भयो, जुन ०२८ सालदेखि सञ्चालनमा आयो।


१७ माघ ०२८ मा राजा महेन्द्रको निधन भयो। र, उनका छोरा वीरेन्द्र राजा बने। ०३१ सालमा वीरेन्द्रको राज्याभिषेक हुने भएपछि रंगशालाको पुनर्निर्माण जोडतोडसाथ अगाडि बढ्यो।

चीन सरकारसँग रंगशाला निमार्णका लागि पुनः सम्झौता भयो। लामो प्रयासपछि राजा वीरेन्द्रको राज्याभिषेकका क्रममा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि रंगशालाको पूर्व र उत्तरतर्फ १४-१४ स्टेपको प्याराफिट तयार भयो। पश्चिमतर्फ भीआईपीका लागि प्याराफिट बनाइयो। यस्तै, एथ्लेटिक्सका लागि ६ लेनको ट्रयाकसमेत तयार पारियो।

२०३४ सालमा शरदचन्द्र शाह राखेपको सदस्य-सचिव नियुक्त भएपछि रंगशालाको संरचनामा सुधार आयो। यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ०३५ सालदेखि निर्माण शुरु भएर ०३७ सालमा पूरा गरियो। 

रंगशालाको प्याराफिटभित्र कार्यालय र बाहिरी सटर निर्माणको काम पनि त्यतिबेलै भएको हो। त्यसपछि प्याराफिटको माथिल्लो भाग थप गरियो।

रंगशाला निर्माण पूरा भएसँगै ०३८ सालमा पहिलो बृहत राष्ट्रिय खेलकुद आयोजना गरियो। त्यसको दुई वर्षपछि यही रंगशालामा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ शुरु भयो। 

२०४४ सालसम्म मैदान घेर्न पश्चिम, दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नांगो काँडे तारले घेर्ने गरिन्थ्यो। तर, २९ फागुन ०४४ मा हावाहुरीका कारण भागदौड मच्चिँदा ९३ जनाको ज्यान गएको थियो। त्यसपछि रंगशालालाई घेरिएको काँडे तार हटाइयो। सोही घटनाका कारण तत्कालीन शिक्षामन्त्री केशरबहादुर बिष्टले राजीनामा दिएका थिए।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को आतिथ्य गर्दैछ नेपालले। ९-१८ मार्च २०१९ तदनुसार आगामी २४ फागुनदेखि ४ चैतसम्म उक्त प्रतियोगिता सञ्चालन हुँदैछ। जसका कारण दशरथ रंगशालाको पुनर्निर्माण चाँडो सक्नुपर्ने दबाबमा छ, सरकार।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।