राजविराज– सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्रभित्रका शहीद परिवारलाई मासिक ५ हजार १०० उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार १०० उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ।
हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको संख्या तीन पुगेको छ। मासिक ५ हजार १०० का दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले जानकारी दिए।
उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ।
सोअनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ।नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले जानकारी दिइन्।–रासस