काठमाडौं- मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन्।
ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताएका छन्।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त हुने वित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखि अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताए।
अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरपयोगसमेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिए।
अध्यक्ष डा. दत्तले आफू पनि सो घटनामा विशेष ध्यान दिएको र आफैँ पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई फास्ट ट्रयाकबाट घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी दिए। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगयातका संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो।