काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४.२६ प्रतिशत बराबर देखिएको छ। सरकारले चालू आवका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। यसमध्ये मंसिर मसान्तसम्म ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ।
यस अवधिमा सरकारको पुँजीगत खर्च करिब ९ प्रतिशत बराबर मात्रै देखिएको छ। महालेखाका अनुसार मंसिर मसान्तसम्म संघीय सरकारको पुँजीगत खर्च ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ। चालू आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको छ। हालसम्मको पुँजीगत खर्च ८.९४ प्रतिशत बराबर हो।
त्यस्तै, चालू शीर्षकमा विनियोजित कुल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म २९.९४ प्रतिशत खर्च भएको छ, जुन ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख बराबर हो। वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मंसिर मसान्तसम्म ४६ अर्ब ९६ करोड २६ लाख बराबर खर्च भएको छ, जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २०.४ प्रतिशत बराबर हो।
यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ। यही अवधिमा सरकारको राजस्व संकलन २४.५२ प्रतिशत बराबर रहेको छ। चालू आर्थिक वर्षका लागि कुल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने र ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य छ।
हालसम्म आन्तरिक राजस्व संकलन ३ खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३.३ प्रतिशत बराबर छ। साथै, यस अवधिमा सरकारले ३ अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको ६.१६ प्रतिशत वैदेशिक अनुदान लिएको छ।