रूपन्देही- कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा बढी बेफाइदा गर्छ। त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो। तर हामीकहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ। यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियलजस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्छ। चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुनेगरेको हो।
चिकित्सकका अनुसार जीवाणु, भाइरस, परजिवी र फङ्गीजस्ता किटाणुबाट मानवलाई हुने सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ। यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सुक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले यसलाई गम्भीररूपमा लिनुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए।
उनका अनुसार विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखापरेको छ। यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायत एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम हुँदैगएको छ।
मानिस, पशुपक्षी तथा वनस्पतिका सङ्क्रामक तथा सरुवा रोगका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिको सही तरिकाले प्रयोग नहुनाले प्रतिरोध विकास भई सङ्क्रामक रोगको उपचारमा बाधा उत्पन्न हुनजाने देवकोटाको भनाइ छ।
विज्ञका अनुसार पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधि (एन्टिबायोटिक) को खोज हुनसकेको छैन। त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्, जसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको सङ्ख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ। जसलाई महामारीकै सङ्ज्ञा दिइएको छ। यसको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि एक अर्ब अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ। जुन कूल औषधि आयातको ३० प्रतिशत हो। नेपाली बजारमा करिब तीन सय ६५ ब्राण्डका एन्टिबायोटिक औषधि उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन्।
एन्टिमाइक्रोबियल प्रतिरोधी सुक्ष्म जीवाणु फैलिन नदिन चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक आदि औषधिको प्रयोग जथाभावी नगर्ने, असल कृषि र पशुपालन र उत्पादन अभ्यास गर्न चिकित्सकको सुझाव छ। औषधिको जथाभावी प्रयोग र आफुखुसी औषधिको प्रयोगका कारण नै समस्या बढेको स्वास्थ्यकर्मीको भनाइ छ।
“चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरी कति दिन औषधि खाएपछि ब्याक्टेरिया मर्छ भन्ने भनेर हिसाब–किताब गरेर नै औषधिको सिफारिस गर्नुहुन्छ। तर प्रायः बिरामीले पाँच दिन लेखेको औषधि सञ्चो भयो भने तीन दिनमात्रै खाएर छोड्नुहुन्छ”, स्वास्थ्यकर्मी मैना सुवेदीले भनिन्। सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नैपरे बीचमै छाड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उनको सुझाव छ।
विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य खतराको सूचीमा राखेको छ। त्यसैले नेपालले पनि यस विषयमा चासो दिँदै सरकारका नीति र कार्यक्रममा यसलाई समावेश गरेको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलको भनाइ छ।
नेपालमा बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिसकेको एन्टिमाइक्रोबियल रेजिस्टेन्सको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न नीति–निर्माण गर्नुका साथै सप्ताहव्यापी कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको पौडेलले बताए। नेपालले १९९० को दशकबाट एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे चासो दिँदै आएको हो, तर ठोस प्रगति अझै देखिएको छैन” मन्त्रालयका प्रवक्ता पौडेलको भनाइ छ।