जाजरकोट- डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ। जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने सम्झौता भएको छ।
डोल्पाको इलबाट उत्पादन भएको विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोड्नका लागि अध्ययन गर्न लागिएको हो। उद्धय जेभीसँग भएको उक्त सम्झौता भएसँगै अध्ययनको काम केही दिनमै सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए। जगदुल्लाबाट १०६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ। अघिल्लो वर्षमात्र विद्युत् खरिद, बिक्रीको काम आयोजनाले प्राधिकरणसँग गरिसकेको थियो।
अर्ध जलाशययुक्त रहेको जगदुल्ला जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने उद्देश्य रहेको प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए। आयोजनाले अहिलेसम्म आयोजनास्थलको मुआब्जा दिइसकेको छ। संरचना निर्माणका लागि काम चलिरहेको छ। त्यस्तै जगदुल्ला जलविद्युत् आयोजना ८२.३ मेगावाटको वातावरणीय प्रभाव अध्ययन गर्न बिहीबार नै श्रेष्ठ ग्रेट जेभीसँग सम्झौता भएको छ।
यो जगदुल्ला जलविद्युत् आयोजनाले बनाउन लागेको अर्को आयोजना रहेको छ। आयोजना निर्माणस्थलमा जान र आउनका लागि तीन जिल्लाको सङ्गमस्थल भेरी करिडोरको त्रिवेणीस्थित भेरी नदीमाथि पुल निर्माण सुरु गरिएको छ। त्यस्तै सडक निर्माणलाई समेत तीव्रता दिइएको छ। त्रिवेणीबाट विद्युत् उत्पादनगृह रहेको इलसम्म जान र आउनका लागि सडक निर्माणसमेत सुरु गरिएको सापकोटाले जानकारी दिए। आयोजना निर्माणलाई सघाउन भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्डमा पर्ने तल्लुस्थित भेरी नदीको पुल निर्माणकार्य सडक डिभिजन चौरजहारीले गरेको छ। रासस