बिहीबार, जेठ २८, २०८३

बेलायतको सहयोगमा बन्यो मुगु–हुम्ला जोड्ने सडक

मुगुको गमगढीदेखि हुम्ला चंखेली गाउँपालिका देउलीसम्मको उक्त सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

कर्णाली– बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चंगेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। मुगुको गमगढीदेखि हुम्ला चंखेली गाउँपालिका देउलीसम्मको उक्त सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो। सडक निर्माण सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो।

National life

निर्माण सकिएपछि बेलायत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए। आफूले सात वर्षको उमेरदेखि पैदलयात्रा गरेको स्मरण गर्दै उनले भने, ‘हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिँडेर नेपालगन्ज पुग्थ्यौं। मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भएको छ, जहाँ अहिले गाडी गुडाएका छौंं।’

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताइन्। ‘बेलायत सरकारको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत ४.५ मिटर चौडा मोटरेबल लिंक सडक निर्माणले पैदल हिँड्ने बाटोलाई विस्थापित गरेको छ’, राजदूत पोलिटले भनिन्, ‘नेपालमा बेलायतले सरकारको सहयोगमा निर्माण भएको यो सबैभन्दा लामो ग्रामीण सडक हो।’

कुल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ। यो सडकले चंखेली हिमालको ३ हजार ३०० मिटरको अग्लो डाँडा पार गर्दा सडकअन्तर्गत चार वटा पुल निर्माण गरिएका छन्। बेलायतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरुप यो सडक निर्माण भएको राजदूत पोलिटले जनाइन्।

उनका अनुसार परियोजना सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाएको छ। सडक सञ्चालन आएसँगै खाद्यान्नमा करिब ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उनको दाबी छ। 

Shivam cement

सडक निर्माणको अवधिमा ४ हजार ४०० बढी स्थानीय श्रमिकलाई रोजगारी दिएको छ भने श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी गराइएको थियो। परियोजनाले महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराएको थियो। बेलायत सरकारका अनुसार सडक निर्माणका क्रममा श्रमिकले ८ लाख बराबरको आम्दानी गरेका थिए।–रासस

प्रकाशित: Dec 15, 2022| 17:55 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्