काठमाडौं– लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट औपचारिक रूपमा कार्यारम्भ भएको छ। बुधबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झन्डोत्तोलन गरेका हुन्।
प्रदेश प्रमुख शेरचनले विकासको क्षेत्रमा पछि परेको देउखुरी उपत्यका अब आधुनिक सहरका रूपमा विकसित हुने बताए। उनले यस क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास समयअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
देउखुरी क्षेत्रको विकासका लागि आफ्नो प्रयास रहने बताउँदै यसका लागि स्थानीय पनि लाग्नुपर्नेमा उनको धारणा छ। मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश संघीयता कार्यान्वयनमा सफल हुँदै गएको जानकारी दिए।
प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले संवैधानिक व्यवस्था भएकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने दाबी गरे। उक्त अवसरमा नेपाली कला–संस्कृतिमा आधारित झाँकी प्रदर्शन गरिएको थियो।