पर्सा– वीरगञ्ज महानगरले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ। एसिया फाउन्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउन लागेको हो।
महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै एप्लिकेसन प्रयोगमा ल्याइने मेयर राजेशमान सिंहले बताए। क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एन्ड्रोइड भर्सनमा अहिले उपलब्ध हुनेछ। आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रवीन्द्र लामिछानेले बताए।
एप्लिकेसन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखे वा फोहोर जम्मा भएको देखे फोटो खिचेर एप्लिकेसनमा रिपोर्ट गर्न सक्नेछन्। यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिनेछ।
यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताए। फोटो पठाउनेलाई भने नगर सफाइ अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिमानाबाटै पुरस्कारको व्यवस्था मिलाइने उनको भनाइ छ। यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिनेछ।