काठमाडौं- श्रीमतीमाथि घरेलु हिंसा गरेको र दाइजो लिएको आरोपमा एकजना डाक्टर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले डाक्टर पंकज चौधरीलाई महोत्तरीको रामगोपालपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो।
पंकज र महोत्तरीकै औराहीकी नेहा चौधरीको ९ महिनाअघि विवाह भएको थियो। विवाहमा अत्यधिक दाइजो लिएको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि उनीमाथि घरेलु हिंसाको पनि जाहेरी परेको थियो।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ। ‘परम्पराअनुसार सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएका एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन,’ यस दफामा उल्लेख छ।
यो कसुरमा तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। विवाहपछि पनि दाइजो माग्ने र दाइजो नदिएकाले दुलही वा नातेदारलाई हैरान पार्ने, सताउने वा अमानवीय व्यवहार गरेमा ५ वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
विवाह भएको केही दिनदेखि नै घरमा श्रीमान्, सासु र नन्दहरूले गाली र अभद्र व्यवहार गरेको भन्दै नेहाले सामाजिक सञ्जालमा लेखेकी थिइन्। ‘म दुःख-सुख गरी बसिरहेकी थिएँ। मेरो श्रीमान् काठमाडौं बस्नुहुन्छ, ग्रान्डी अस्पतालमा काम गर्नुहुन्छ। मलाई पनि आफूसँगै राख्नु भन्नेवित्तिकै कुटपिट पनि गर्नुहुन्थ्यो,’ उनले लेखेकी थिइन्।
घरेलु हिंसा भएपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि त्यतिबेला पनि पंकजलाई पक्राउ गरी केही दिन हिरासतमा राखिएको थियो। तर पछि उनी छुटेका थिए।