काठमाडौं- देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ।
जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंको न्यूनतम तापक्रम भने घटेर ६ डिग्री सेल्सियस पुगेको छ। जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ।