बिहीबार, जेठ २८, २०८३

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ। केहीले व्यावसायिकरुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

रेसुङ्गा- गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन्। यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत निर्यात हुँदै आएको छ।

National life

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ। किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ। जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए। कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसानको आकर्षण बढेको छ।

बढ्यो आकर्षण
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफी खेतीमा छन्। आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफी खेती गरिरहेका उनीहरूले बीस हजार कफीका बिरुवा रोपेका छन्।

‘विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मेहनत गरौँ भन्ने सोचले कफी खेती सुरु गरेका हौँ’ बेलबासेले भने। मनोज र सरोजले गरेको कफी खेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन्। मनोजका अनुसार गत वर्ष यसबाट सात लाख आम्दानी भएको थियो। कफी खेतीमा उनीहरूले हालसम्म ५१ लाख लगानी गरिसकेका छन्। कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन्। सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरूले रोजगारी समेत दिएका छन्।

Shivam cement

उनीहरू मात्रै होइन आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ। केहीले व्यावसायिकरुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन्।

आँपचौरकी किसान कपिला खरेलको कपिला कृषि तथा पशुपक्षी फर्म छ। व्यवसायीक रूपमा कफी खेतीसँगै केरा खेती र कुखुरा पालन पनि गरेकी छिन्। उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन्। उनले कफी खेती बिस्तारका लागि छहारी निर्माणमा लागेकी  छिन्।

आँपचौरकै दुर्गा खरेलले पनि कफी खेतीलाई बगैँचाका रूपमा विस्तार गरेकी छिन्। उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएकी छिन्। ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो’ उनले भनिन्।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो। मुसिकोट नगरपालिका ५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ। आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किँदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो।

कफीको सुरुआत भएको झन्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो। त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ।

प्रकाशित: Dec 11, 2022| 16:53 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्