काठमाडौं- लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास 'एक्लो' लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो।
गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए। गाउँको कथालाई आफ्ना लेखनको विषय बस्तु बनाउदै आएका बुद्धिसागर 'फिरफिरे' प्रकाशन भएको ७ वर्षपछि 'एक्लो'मार्फत सहर पसेका छन्।
'एक्लो सहरको कथा हो, तर सहरका स्थानीय पात्रको होइन। गाउँबाट आफ्नो सपनालाई आकार दिन सहर पस्नेहरूको कथा हो, उनीहरूको जीवन संघर्षको हो' लोकार्पणको क्रममा बुद्धिसागरले भने।
भाषाको जादुले पाठकलाई लोभ्याउन सकेका लेखक बुद्धिसागरको 'एक्लो' तेस्रो आख्यानकृति हो। कर्णाली ब्लुज चर्चित उपन्यास हो, जसलाई माईक हटले अंग्रेजीमा अनुवाद गरेका थिए। पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।