चितवन– चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रूपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ। निकुञ्जको कुसुमखोलामा बनाइएका ९ घरटहरा भत्काइएको हो। घरटहरासँगै पूजा गर्न बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो। दुई÷तीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी दिए।
विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन। काजीमानको सहित १२ घर सो क्षेत्रमा रहेका छन्। ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँ–ठाउँबाट मानिस घरटहरा बनाउन आउने गरेको उनले बताए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोस्टबाटसमेत फर्काउने गरिएको सुनाए। उनले भने, ‘नियमित रुपमा अवैध ढंगले त्यहाँ बनाइएका संरचना भत्काउने गरेका छौं।’ सो क्षेत्रमा समयसमयमा संयुक्त सुरक्षा गस्ती पुगेर बनाइएका घरटहरा भत्काउने गरेको उनले बताए।
दुई वर्षअघि हात्ती लगाई भत्काउनुका साथै निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो। घरटहरामा आगजनी गरेपछि उक्त विषयले ठूलो चर्चा पाएको थियो। पुनः सो क्षेत्रमा बाहिरबाट मानिस गएर बसोबास गर्न थालेका हुन्।–रासस