बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण : प्रधानमन्त्री देउवा

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकाले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक रहेको बताएका छन्।

National life

शुक्रबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकाले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।

उनले भ्रष्टाचार निस्तेज गर्न यसविरुद्धको अभियानमा सबैको प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरे। उनले भने, ‘भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अंग वा निकायको मात्र जिम्मेवारीको विषय होइन, न त यो राज्यको कुनै एउटा अंगको सक्रियताले मात्र जितिने लडाइँ हो।’

प्रधानमन्त्री देउवाले सरकारी कामलाई चुस्त र प्रभावकारी बनाउँदै विकास निर्माणलाई निर्धारित लागत र समयमै सम्पन्न गरी आमनागरिकलाई सुशासनको अनुभूति दिलाउन आवश्यक रहेकामा जोड दिए। ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका सबै संयन्त्र र तहमा कडाइका साथ कार्यान्वयन गरिनुपर्छ’, उनले भने।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको ९ डिसेम्बरलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आएको छ। आजको दिन भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति ऐक्यबद्धता जाहेर गर्ने दिन भएको बताउँदै उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै प्रतिबद्ध हुन आवश्यक रहेको औंल्याए। 

Shivam cement

प्रधानमन्त्री देउवाले समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, त्यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आजको दिनले प्रेरणा र प्रोत्साहन प्रदान गर्ने विश्वास व्यक्त गरे। भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनै तहबाटै राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको अवगत गराए। 

भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भएकाले भ्रष्टाचार गर्ने मनोवृत्तिमा ठोस सुधार गर्न जरुरी रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले भने, ‘भ्रष्टाचारको दुष्परिणाम वर्तमानमा मात्र नभई भावी पुस्ताले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचारविरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने खाँचो छ।’

उनले भ्रष्टाचार गर्ने व्यक्ति वा समूह कानुनको दायराबाट कदापि उम्कन पाउँदैन भन्ने हरेक नागरिकलाई सुसूचित गर्न सकिए मात्र सार्वजनिक पदाधिकारी भ्रष्टाचार गर्न निरुत्साहित हुने बताए।

भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजनका साथै आयोगले भ्रष्टाचारको रोकथाम र सचेतना अभिवृद्धिका लागि समेत उल्लेखनीय कार्य गरिरहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि आयोगलाई सरकारका तर्फबाट धन्यवाद दिए। सार्वजनिक सम्पत्तिको अनुचित र अन्यायपूर्ण दोहन तथा अधिकारको दुरुपयोग जोकोहीबाट भए पनि त्यसलाई कानुनको दायरामा ल्याउने काम आयोगले प्रतिबद्ध भएर गर्न सक्नुपर्ने उनले बताए।

प्रकाशित: Dec 09, 2022| 14:30 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।