काठमाडौं- २०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरी संयुक्त वाम घोषणापत्रमार्फत चुनाव लडे। समानुपातिकसहित एमालेले १२१ र माओवादीले ५३ सिटमा जित निकालेपछि दुई पार्टीबीच एकीकरण भई नेकपा बन्यो। संयुक्त वाम सरकारले ल्याएको परिणामले त्यसबेला ५ वर्षको स्थिर सरकार बनेर देशले विकासमा फड्को मार्ने जनअपेक्षा थियो।
तर जनअपेक्षाअनुसार सरकारले काम गर्न सकेन। केपी ओली नेतृत्वको सरकारका विभिन्न निर्णय विवादित बन्दै गए। सरकार गठनको अढाइ वर्ष नपुग्दै नागरिक आन्दोलन सुरु भयो। कानुन निर्माणमा सरकार विवादित बन्दै गयो, सुशासनको प्रत्याभूति नागरिकले गर्न सकेनन्।
कोरोना महामारीको संकटका कारण रोग र भोकको लडाइँबीच सरकार जनउत्तरदायी बन्न सकेन, बरु स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गर्न अग्रसर भयो। सडक आन्दोलन भए। नेकपाभित्रै विवाद सुरु भयो। यसैबीच तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा संसद् विघटन गरे। ओलीको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनस्र्थापना गर्यो। ओलीले पुनः ८ जेठ २०७८ मा दोस्रोपल्ट संसद् विघटन गरिदिए।
त्यसपछि सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन अन्तरिम आदेश दियो। चुनावी सरकारका रूपमा बनेको पाँचदलीय संयुक्तत सत्ता गठबन्धनको सरकारमा पनि नागरिकले आफ्नो प्रतिनिधित्व देखेनन्, जसको नतिजा गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देखियो। नागरिककको ‘फ्रस्ट्रेड’ भोट नयाँ दलहरूमा ‘ट्रान्सफर’ भयो।
यद्यपि, संसद्मा ठूलो दलका रुपमा कांग्रेस नै देखापरेको छ। कांग्रेसमा जनताले आशाका साथ हेरेको अनुहार हो– ‘बीपीजी’ अर्थात्, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापा।
संसद्मा गगन नयाँ अनुहार होइनन् तर विश्वप्रकाश र प्रदीपको भने यो पहिलो संसदीय यात्रा हो। चुनावअघि नै गगनले आफू संसदीय दलमा चुनाव लडेर प्रधानमन्त्रीमा भिड्ने बताइसकेका छन्। जसलाई साथ दिने घोषणा गरेका छन्, विश्वप्रकाशले। कांग्रेसभित्र अपेक्षासाथ हेरिएको अर्को अनुुहारले उक्त यात्रामा साथ दिन्छ वा दिँदैन? यसबारे प्रदीपले हालसम्म कुनै आधिकारिक धारणा बाहिर ल्याएका छैनन्। तर यदि प्रदीप पनि गगन–विश्वप्रकाश सँगै उभिए भने कांग्रेस स्थापनादेखिको इतिहास एक पटक पुनः दोहोरिनेछ।
कांग्रेसमा प्रभावशाली नेताहरूबीच सहकार्य भई नेतृत्वमा हस्तक्षेप गर्ने इतिहास आजको होइन। बीपी कोइरालाको अवसानपछि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह कांग्रेसमा त्रिशक्तिका रूपमा उदाएका थिए। सरकारमा होस् वा पार्टी सुदृढीकरणमा। उक्त समूहको केही समय हस्तक्षेपपूर्ण भूमिका रह्यो। प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ मा कांग्रेस नेतृत्वको बहुमतको सरकार बन्यो। गिरिजाप्रसाद प्रधानमन्त्री बने। तर सरकारका काम–कारबाहीबाट गणेशमान र गिरिजाप्रसादबीच दूरी बढ्यो। गिरिजाप्रसादले ६ ब्राह्मण र १ क्षेत्री राजदूत नियुक्त गरेपछि समावेशी नभएको भन्दै गणेशमानले सरकारको विरोध गरे। पार्टीभित्र अन्तरकलह बढेपछि गिरिजाका विश्वासपात्रका रुपमा रहेका खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार समूहगत रुपमा उदाए। पछि सोही समूहमा जोडिए, अर्जुननरसिंह केसी। त्यतिबेला कोइराला परिवारको विपक्षमा उभिने समूह ‘आरएसएस’ पनि सक्रिय थियो। रामचन्द्र पौडेज, शैलजा आचार्य र शेरबहादुर देउवाको उक्त समूहले कोइराला परिवारलाई चुनौती दिन्थ्यो।
तर जब गिरिजाले कृष्णप्रसाद र गणेशमानलाई किनार लगाउन संघर्ष गरे, आरएसएस समूहले पनि उनलाई बलियो साथ दियो। दुवै समूहको बलियो समर्थनले गिरिजाप्रसाद बलियो बने। कांग्रेमा गुटबन्दी बढेपछि गणेशमान र कृष्णप्रसादले पार्टी नै परित्याग गरे भने मूलधारमा सशक्त रूपमा उदाए, गिरिजाप्रसाद।
ज्ञानेन्द्रको कू, जनआन्दोलन, पहिलो संविधानसभा निर्वाचनताका कांग्रेसभित्र विद्रोही आवाज सुषुप्त रहेकामा गिरिजाप्रसादको निधनपछि सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल एक ठाउँ उभिए। सुशीलको निधनपछि रामचन्द्र र देउवाबीच खटपट सुरु भयो। देउवालाई पार्टी नेतृत्वको जिम्मेवारी प्राप्त भयो। त्यसयता कांग्रेसभित्र विभिन्न इतर समूह सक्रिय भए पनि प्रभावकारी रुपमा नेतृत्व नै हत्याउने गरी समूहगत एकता भने हुन सकेको छैन।
कांग्रेसभित्र ‘बीपीजी’ अर्थात् विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई बलियो चुनौती दिन सक्छ। यद्यपि, विश्वप्रकाशले गगनप्रति समर्थन जनाइसके पनि प्रदीपले हालसम्म आफ्नो कित्ताकाँट गरिसकेका छैनन्।
चुनावअघि नै गगनले सभापति हुँदै प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेपछि पुनः एक पटक नेतृत्व छिन्ने बलियो पुस्ता कांग्रेसमा विकास हुन सक्ने आकलन धेरैको छ।
उक्त आकलनलाई मलजल गरेको छ, संसद्मा ‘बीपीजी’को प्रवेशले। तर तीनै नेता समूहगत रूपमा एक ठाउँ उभिन्छन् भन्ने पक्का छैन। विश्वप्रकाशले चुनावअघि नै गगनलाई संसदीय नेतामा समर्थन गर्ने बताएर पक्षमा उभिने संकेत दिए पनि प्रदीपले भने अहिलेसम्म उनी कुन कित्तामा उभिन्छन् भन्ने खुलाएका छैनन्। यसअघि संस्थापन इतर शेखर कोइराला समूहमा रहेका गगन त्यहाँबाट विद्रोह गर्ने चेस्टामा पुग्दा शेखरले उनलाई समर्थन नगर्ने संकेत गरिसकेका छन्।
शेखर आफंै प्रधानमन्त्रीको दौडमा रहेको अवस्थामा कांग्रेसबाटै रामचन्द्र पौडेल र प्रकाशमान सिंह पनि यसैको दौडमा छन्। संस्थापन इतर पक्षका तीन नेताको रस्साकस्सीको नाफा भने देउवातर्फ नै सोझिने देखिन्छ। कांग्रेसभित्र ‘बीपीजी’ समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई यसले बलियो चुनौती दिन सक्छ। यद्यपि, तत्काल तीनै नेता समूहगत रुपमा एक ठाउँ उभिने सम्भावन नदेखिएको प्रदीप निकट एक नेताले बताए। ‘उहाँ (प्रदीप) तत्काल गगनको पक्षमा उभिनुहुन्छ जस्तो मलाई लाग्दैन। उहाँ आफैँ देउवाको समर्थनमा सरकारमा जाने वा गगनसँग उभिने भन्नेमा कन्फ्युज हुनुहुन्छ,’ ती नेताले भने, ‘अहिले पनि संसदीय दलको नेता देउवा नै हुने पक्काजस्तै छ। त्यसैले प्रदीपको चाहना सरकारमा गएर काम गर्ने भन्ने बुझिन्छ।’
यद्यपि, प्रदीप स्वयंले भने यस विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन्। आगामी दिनमा कांग्रेसभित्र उनको साथ युवा समूहमा रहन्छ वा संस्थापन पक्षमा भन्ने विषयमा बुझ्न उनीसँग सम्पर्क गर्ने प्रयास हामीले गरेका थियौं। तर यस विषयमा उनीसँग कुरा हुन पाएन। प्रदीपको फोन उठाउँदै उनका स्वकीय सचिव सुबास घिमिरेले भने, ‘अहिले नै उहाँले यस विषयमा कुनै निर्णय गर्नुभएको छैन। अहिले मतदातालाई धन्यवाद दिने क्रममा घरदैलोमा छौं। त्यसपछि उहाँको केही धारणा आउला।’