काठमाडौं- पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। देशमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणानुसार आज बिहान जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ३.९ डिग्री सेल्सियस छ।
यस्तै, डडेलधुराको न्यूनतम तापक्रम ५.५, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको छ।
वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.५, दिपायल र ओखलढुंगाको न्यूनतम तापक्रम समान ८.५ डिग्री सेल्सियस छ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी सार्वजनिक गर्ने गर्छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ।
तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।