काठमाडौं– २१ औं सिनियर एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ। फिलिपिन्सको क्लार्क र सबिकमा आयोजना प्रतियोगिता अनिश्चित कालका लागि स्थिगित गरिएको हो।
यसअघि फिलिपिन्समा २९ अगस्तबाट ४ सेप्टेम्बरसम्म हुने तय थियो। त्यसका लागि सुरुमा नेपाली टिमले सहभागिता जनाउन भए पनि पछि एसियाली भलिबल महासंघले नेपालको नाम काट्दै आठ टिमको मात्र सहभागीता गराएको थियो।
तर फिलिपिन्सको आयोजक सहरमा कोभिड महामारीको संक्रमण दर बढ्दो रुपमा देखिएका कारण अयोजक फिलिपिन्स भलिबल फेडेरेसनले प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो।
यता एसियाली भलिबल महासंघ एभीसीले पीएनभीएफलाई भलिबल आयोजना गर्नका लागि अनुरोध गरेको छ। एभीसीले आउँदो अगस्त २४ देखि ३० वा ३१ तारिखसम्मका लागि आयोजनाको प्रस्ताव गरेको हो।
तर अब च्याम्पियनसिप हुन्छ वा हुँदैन भन्नेबारे जानकारी आएको छैन। कोभिड १९ को महारीको अवस्थाले नै आयोजनाबारे निक्र्योल हुनेछ।