काठमाडौं– बागमती नदी किनार र काठमाडौंका विभिन्न क्षेत्रमा जमिन कब्जा गरी घरटहरा बनाएर बस्दै आएका सुकुम्बासीले वार्ता र सहमतिबाट निकास खोज्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। सोमबार सुकुम्बासीले विभिन्न ठाउँबाट दबाब र्यालीसहित बानेश्वरमा धर्ना दिएका हुन्।
सुकुम्बासीले भूमिसम्बन्धी कानुन, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार, उठीबासको त्रास अन्त्य गर्न माग गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आह्वानमा भएको प्रदर्शनमा सहभागीले विकल्प नदिई आफूहरूले बागमती नदी किनारमा बनाएका घरटहरा भत्काउन नदिइने चेतावनी दिए।
गत ९ भदौमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र राष्ट्रिय भूमि आयोग अध्यक्ष केशव निरौलाको रोहवरमा भएका सम्झौताअनुसार सुकुम्बासी व्यवस्थापनमा आशाको दियो बलेकामा १२ मंसिरमा महानगरका डोजर र नगर प्रहरीसमेतको टोली सुकुम्बासी बस्ती हटाउन आएको उनीहरूको दाबी छ। सुकुम्बासी व्यवस्थापनका लागि आपसी समझदारी, वार्ताको माध्यमबाट समाधान खोज्न उनीहरूको आग्रह छ।