चितवन– चितवनको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरु गरेको छ। कार्यपालिका बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा दिने निर्णय गरेसँगै कार्यान्वयनमा ल्याइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्वजनिक यातायातमा निःशुल्क गरिएको हो। यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए। अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उनले जानकारी दिए।
माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दस जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत ६ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उनले बताए।
उनले भने, ‘निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले १४ लाख बजेट विनियोजन गरेका छन्।’ पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिएको हो।
१५ मंसिरबाट सेवा सञ्चालनमा आएको हो। यो निर्णयबाट वृद्धवृद्धा र अपांगता भएका व्यक्तिसमेत लाभान्वित बन्नेछन्। वृद्धवृद्धालाई यातायातमा ५० प्रतिशत र अपांगता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ।
उनले भने, ‘कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो।’ सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ। ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्नेछन्।
माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले चार वटा विद्यालयलाई यसअघि नै स्कुल बस प्रदान गरेको थियो। माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउनेछन्। घरबाट दस जोड दुई र क्याम्पसमा सार्वजनिक बसमा यात्रा गर्ने विद्यार्थीले यो सुविधा प्रयोग गर्न पाएका हुन्।
रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ। नगरपालिकाभित्र बसोबास गर्ने नगरबासीका लागि ३० लाखको उपचार कोष स्थापना गरेको हो। बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो।
कोषको आइतबार औपचारिक शुभारम्भ गरिएको छ। कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ। नगरपालिका प्रमुख प्रह्लाद सापकोटाले कोष सञ्चालनका लागि कार्यविधि बनाइएको बताए। उनले भने, ‘आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस् भनेर कोष स्थापना गरिएको हो। पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनुपर्ने अवस्था अन्त्य गर्न कोष स्थापना गरेका हौं।’
कोषबाट नगरभित्रका विपन्न नागरिक र सडकमा आएका नागरिकको समेत उपचार गरिनेछ। वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। एक जनालाई उपचारका लागि १० हजारसम्म उपलब्ध गराउने योजना छ। उपचार गर्नै नसक्नेका लागि थप रकमसमेत कोषबाट सहयोग गरिनेछ।
कोषको प्रभावकारिता हेरेर अर्को वर्ष रकम दोब्बर गरिने उनले कार्यक्रममा घोषणा गरे। नगरपालिकाले चालू आर्थिक वर्षमा ३ हजार २०० सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनीसमेत गरिसकेको छ।–रासस